detail-img

लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न 

नेपालगञ्ज । नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीको आयोजनामा भएको लुम्बिनी प्रदेशका  एमालेबाट निर्वाचित जनप्रतिनिीधहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आईतबार समापन भएको छ । 
आईतबार पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले प्रशिक्षण दिनुभयो ।

 

उपाध्यक्ष पौडेलले स्थानीय स्तरमा राम्रो काम गरेर पार्टीलाई  बलियो बनाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 
महासचिव पोखरेलले बर्तमान सरकारले जनताको अहित हुने गरी काम गरेको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफूलाई उत्कृष्ट बनाउनुपर्नेमा जोड दिनुभयो । 
वर्तमान सरकारमा सहभागी भएका र नजिक रहेकाहरूले अर्थतन्त्र कव्जा गरेको भन्दै उहाँले एमालेले भ्रष्टाचार विरुद्ध कसैसँग सम्झौता नगर्ने बताउनुभयो । 
पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रमबाट  १५ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गरिएको छ ।  नेकपा (एमाले)का पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले घोषणापत्रमा  वडाको आर्थिक अधिकार बढाउन लाग्नुपर्ने,  देश र जनताको हितका लागि बढी भन्दा बढी केन्द्रित हुने, निर्वाचनमा गरिएका वाचा र घोषणापत्रप्रति प्रतिबद्ध हुने,  जनसरोकारका सवालमा प्रतिवद्ध हुने लगायतका विषय समावेश गरिएको बताउनुभयो । 
यसैगरी घोषणापत्रमा महिला प्रमुख र उपप्रमुख रहेको स्थानीय तहमा कुनैपनि खालको विभेद हुन नदिने र महिलालाई कार्यकारी पदमा प्रोत्साहन गरिनुपर्ने उल्लेख गरिएको छ । यसैगरी निर्वाचन प्रणालीमा सुधार गरी गरिब जनताका सन्तान पनि जनप्रतिनिधी बन्न सक्ने बनाउन पहल गरिने, भ्रष्टाचार अन्त्यका लागि पहल गरिने लगायतका विषय घोषणापत्रमा समेटिएको छ ।
कार्यक्रमको शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।