detail-img

उपमहासचिव ज्ञवालीको चुनौती– लडाकू शिविरको भ्रष्टाचार छानविन गर्ने आँट छ ?

धनगढी । नेकपा (एमाले) केन्द्रीय पार्टी स्कुल विभागको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आइतबारदेखि धनगढीमा शुरु भएको छ । 
तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमको पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभयो । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लडाकू शिविर प्रकरणको छानबिन गर्न चुनौती दिनुभएको छ । 
उहाँले भ्रष्टाचारीलाई कारबाहीका सन्दर्भमा सरकारले प्रचारात्मक काम मात्र गरिरहेको बताउनुभयो । 
‘भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा मात्रै किन आइरहेको छ, लडाकू शिविरको अनियमितता छानबिन गर्नसक्ने आँट छ ?’ उहाँले भन्नुभयो । २२ पटकसम्म सुन छाडेर २३औँ पटकमा पक्राउ गरेको भन्दै उहाँले त्यसमा पनि सरकारको कमजोरी रहेको बताउनुभयो । 
‘२३औँ पटकमा पक्राउ गरिएको रहेछ । २२ पटकसम्म त छुट्यो नि । आठ दिनपछि सुन निकालिसकेको गोदाममा छापा मारेर के गर्न खोजेको हो ?’ उहाँले भन्नुभयोे– २२ पटकसम्म सुन तस्करी गर्नेहरूलाई खोज्नु पर्दैन ? मुख्य नाइके को–को हुन्, खोज्नु पर्दैन ?’


उहाँले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका छोराको नाम पनि सुन तस्करीमा जोडिँदा सरकारले छानबिन गर्न आनाकानी गरेको बताउनुभयो । 
मुलुकको खस्किँदो अवस्थाले एमाले चिन्तित रहेको उहाँको भनाइ छ । उपमहासचिव ज्ञवालीले भन्नुभयो– नेपालको राष्ट्रिय हित सङ्कटमा छ । चौतर्फी निराशा छ । आठ लाखभन्दा बढीले श्रम स्वीकृति लिएको पाइएको छ । देश रित्तो हुने अवस्था छ । मुलुकको खस्किँदो अवस्थाले एमाले चिन्तित छ ।’
प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवाली, केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्ट, केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छबिलाल बिश्वकर्मा, स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावल, ईश्वरी रिजाल र केन्द्रीय स्कुल विभाग सदस्य इन्दिरा पन्त र वाइपी आचार्य प्रशिक्षक रहनुभएको छ । प्रशिक्षणमा पार्टीका प्रदेश कमिटी पदाधिकारी र सदस्य तथा नौवटै जिल्ला कमिटीका अध्यक्ष, स्कुल विभाग प्रमुख लगायतको सहभागिता रहेको छ ।