detail-img

काठमाडौंको पार्टी कामलाई अत्यन्त गम्भीरताका साथ लिन महासचिवको निर्देशन 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले  वर्तमान दशदलीय गठबन्धन सरकारले नेपालमा अन्तर्राष्ट्रिय व्यापार प्रबद्र्धन गर्ने एजेण्टका रूपमा काम गरिरहेको वताउनुभएको छ । 
महासचिव पोखरेलले सरकारले देशमा उद्यमशीलताको विकास, राष्ट्रिय पुँजीको विकास र प्रबद्र्धन तथा देश र जनताको हित र कल्याणको काम गर्छ भन्ने कुरामा आशा गर्न नसकिने वताउनुभयो । 
नेकपा (एमाले) काठमाडौं महानगर कमिटीद्वारा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले गठबन्धन सरकारले अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गरिरहेका कारण मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको वताउनुभयो ।


गठबन्धन सरकारले ल्याएका दुईवटा बजेटमा निश्चित घरानाका व्यापारीलाई फाइदा पुग्ने गरी उनीहरूकै संलग्नतामा करका दर हेरफेर गरिएको वताउँदै महासचिव पोखरेलले मुलुकले झेलिरहेको आर्थिक मन्दीका कारण अहिले व्यापार, व्यवसाय, उद्योग, कलकारखाना बन्द हुने क्रममा रहेको भनाइ राख्नुभयो । 
‘मुलुकले आर्थिक सङ्कट भोगिरहेको छ तर यही अवधि अर्थात एकबर्षमा एकजना व्यापारीको सम्पत्ति चालीस अर्ब रुपियाँले बढेको छ,’ चर्चा गर्दै महासचिव पोखरेलले गठबन्धन सरकारका कारण मुलुक इतिहासकै सबैभन्दा सङ्कटको अवस्थामा पुगिरहेको वताउनुभयो । 
सवोच्च अदालतले परमादेश जारी गरेबाट मुलुकको राजनीतिक अवस्था कमजोर हुँदै गएको र संसद, सरकार र न्यायालयमाथि जनताको भरोसा हराउँदै गएको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– आज नेपाल राष्ट्र इतिहासकै असाधारण सङ्कट र कमजोर अवस्थामा रहेको छ । राज्य कमजोर हुँदा जनताका अपेक्षा पूरा गर्न सकिँदैन । 
‘कतिपय मानिसले आज मुलुकमा जुन प्रकारका सङ्कटहरू उत्पन्न भएका छन् ती सङ्कटलाई आधार बनाएर, अहिलेको सरकारका असफलतासँग नेकपा (एमाले)लाई जोडेर विश्लेषण गर्ने गरेका र पुराना पार्टीको विकल्प नयाँ भन्ने गरेका छन्’ भन्नुहुँदै महासचिव पोखरेलले अहिलेको सङ्कटमा गठबन्धन सरकार जिम्मेवार रहेको भनाइ राख्नुभयो ।  
उहाँले भन्नुभयो– एमाले सरकारमा रहेको समयमा मुलुकको सामाजिक, आर्थिक स्थिति अनुकूल अवस्थामा थियो । मुलुक आर्थिक रूपमा अत्यन्त सबल अवस्थामा थियो । सबै आर्थिक परिसूचक सुदृढ अवस्थामा थिए । जब एमाले सरकारबाट बाहिरियो, देशको अर्थतन्त्र कमजोर बन्दै गयो । एमाले सरकारमा हुँदा अर्थतन्त्र बलियो हुने, बाहिरिँदा कमजोर हुने, यो दुःखको कुरा हो । 
महासचिव पोखरेलले गठबन्धन सरकारका कारण नेपाल अहिले एसियाका सबभन्दा कमजोर राष्ट्रहरूमध्येमा परेको छ  भन्नुभयो ।  
गत मंसिरमा सम्पन्न संसद निर्वाचनको समीक्षात्मक चर्चा गर्दै महासचिव पोखरेलले राजधानी रहेको काठमाडौंमा निर्वाचन परिणाम निराशाजनक रहेको र एकप्रकारले भन्दा बाग्मती प्रदेशको निर्वाचन परिणामका कारण एमाले कांग्रेसभन्दा पछाडि परेको वताउनुभयो ।  
बाग्मती प्रदेशमा प्रतिनिधि सभाका ३३ सिटमध्ये नेकपा (एमाले) ले चार सिटमा मात्र विजयी भएको थियो । 
उहाँले भन्नुभयो– बाग्मती प्रदेशको निर्वाचन परिणाम सन्तोषजनक हुन सकेको भए लोकप्रिय मतमा मात्र नभई संसदमा कांग्रेसभन्दा हामी माथि पुग्थ्यौं । हामी संसदमा सबैभन्दा ठूलो दल हुन्थ्यौं । 
महासचिव पोखरेलले पार्टीले समग्र कामलाई मिसन–२०८४ केन्द्रित गरेको वताउँदै बाग्मती प्रदेश र राजधानी काठमाडौंको पार्टी कामलाई व्यवस्थित गर्ने कुरालाई अत्यन्त गम्भीरताका साथ लिनुपर्छ भन्नुभयो ।  
‘नेकपा (एमाले) विरुद्धको घेराबन्दी पार्टीको कमजोरीका कारण नभई देश र जनताका पक्षमा काम गरेका कारण भएको हो भन्ने कुरा हामीले बुझ्नुपर्छ,’ चर्चा गर्दै उहाँले भन्नुभयो– आफ्नो भविष्यका बारेमा चिन्ता गरिरहेका शक्तिहरूले आफ्नो सुरक्षाका लागि एमालेका विरूद्धमा घेराबन्दी गरेका हुन् ।