detail-img

युगदूत साहित्यिक पत्रिका विमोचन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहर हुन नहुने बताउनुभएको छ । 
नेकपा (एमाले) को केन्द्रीय साहित्य, कला, संस्कृति विभागले आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजना गरेको श्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिका नाममा अपवित्र काम गर्न नहुने वताउनुभयो । कार्यक्रममा अध्यक्ष ओलीले विभागद्वारा प्रकाशित युगदूत पत्रिकाको विमोचन गर्नुभयो । 


उहाँले सबै दल फोहर नै छन् भन्ने भाष्य निर्माण गरिनु र सबै नेता बिग्रिए भन्नु गलत हुने बताउनुभएको छ । 
अध्यक्ष ओलीले सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता खालका लेख, रचना सम्प्रेषित नगर्न पनि साहित्यकारहरूलाई आग्रह गर्नुभयो । 
उहाँले अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत गनेर महिलाहरूका दाँत २८ हुन्छन् भने जस्तै हाम्रा स्रष्टाहरूले पनि सबै नेताहरूलाई बिग्रिएको भन्नु उस्तै हुने बताउनुभयो ।
अध्यक्ष ओलीले साहित्यकार वासुदेव अधिकारीद्वारा लिखित ‘सबै नेता बिग्रिए’ शीर्षक कवितालाई उद्धृृत गर्दै सो कुरा बताउनुभएको हो ।
कतिपय नेताहरू बिग्रिएको कुरा सत्य भए पनि साहित्यिक सिर्जना गर्दा सबै नेता बिग्रिएको भन्न नमिल्ने उहाँको भनाइ थियो ।
नेपाली ज्ञानको परम्परा गौरवयुक्त भएकाले वर्तमानमा लेखिरहेका साहित्यकारले सामाजिक यथार्थ र सुन्दर भविष्यको रेखा कोर्ने गरी कलम चलाउनुपर्नेमा उहाँको जोड थियो ।
अध्यक्ष ओलीले राजनीति सबै नीतिको पनि मूल नीति भएकाले यसमा ढाँट छल, धोका आदि हुनै नहुने बताउनुभयो ।
उहाँले नेपालले सामाजिक न्याय र समानताको क्षेत्रमा विकसित देशहरूले भन्दा बढी प्रगति गरेको वताउनुभयो । 
पार्टीका स्थायी कमिटी सदस्य तथा विभागका प्रमुख रघुजी पन्तले युगदूतलाई पार्टीको साहित्यिक मुखपत्रका रूपमा नियमित प्रकाशन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहोराको अतिथिका रूपमा उपस्थिति रहेको थियो ।   त्यस्तै,  पार्टीका स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटीका सदस्यहरू तथा ठूलो सङ्ख्यामा कवि, साहित्यकार तथा लेखकहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।