detail-img

सुन तस्करी काण्ड माओवादी नेताहरूका वरिपरि घुमेको छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्ड नेकपा माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको बताउनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको दशौं बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानैसक्दैन भन्नुभयो । 
घटनाक्रमहरूले सुनकाण्डमा माओवादीको संलग्नता देखिएको र उनीहरूले घटनाक्रमलाई अन्यत्र मोड्न खोजेको उहाँले वताउनुभयो । 
गोदाममा रहेको साढे नौ किलो सुन हरायो, यो भन्दा राज्यशक्तिको भद्दा दुरूपयोग के हुन्छ ? प्रश्न गर्दै अध्यक्ष ओलीले गृहमन्त्री मातहतको मेसिनरीले के हेरेको ? यसमा गृहमन्त्रीको संलग्नता छ, यसै कारण गृहमन्त्रीको राजीनामा मागिएको हो भन्नुभयो । 
गृहमन्त्रीको संलग्नता भएकै कारण घटनाक्रमलाई अन्यत्र मोड्न यता उता देखाउने र ‘टार’ र ‘कोट’ को कुरा गरेको वताउँदै सरकारको जिम्मेवार मन्त्रीले अरूमाथि आरोप लगाउँदा पुष्टी गर्नुपर्ने भनाइ उहाँले राख्नुभयो । 
अध्यक्ष ओलीले केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई पार्टीका बारेमा जनतालाई सकारात्मक प्रभाव पार्न जनचेतना अभिवृद्धि गर्ने काममा थप क्रियाशील बन्न निर्देशन दिनुभयो । 
विभागले एमालेको विचार, नीति र सिद्धान्तको पक्षमा अझ धेरै काम गर्न जरूरी रहेको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले पार्टीमाथि भइरहेको चौतर्फी हमलाको सामना गर्न पनि पार्टीको प्रचार विभागले महत्वपूर्ण भूमिका खेल्नुपर्ने वताउनुभयो । उहाँले विभाग सदस्यहरूलाई अभिव्यक्तिका मामिलामा नमूना बन्न आग्रह गर्नुभयो ।


बैठकको सुरुमा नयाँ मनोनयन हुनुभएका विभाग सदस्यहरूलाई महासचिव शंकर पोखरेलले शपथ ग्रहण गराउनुभएको थियो ।
बैठकमा मन्तव्य व्यक्त गर्दै महासचिव पोखरेलले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनले छ दशकसम्म जनतालाई विद्रोही बनाएको चर्चा गर्दै अब जनतालाई रचनात्मक बनाउनु आवश्यक रहेको वताउनुभयो । आम जनताको विद्रोही मनोविज्ञानलाई राज्य निर्माणमा बदल्नुपर्ने उहाँको भनाइ छ । 
राजनीतिक परिवर्तनका लागि गरिएका आन्दोलनमा दलहरू मिल्दा सफलता प्राप्त भए पनि  देश बनाउनका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व अनिवार्य रहेको महासचिव पोखरेलको भनाइ छ ।  
‘यि तीन चिजविना देश बन्दैन । देश नबनेकामा चिन्ता गर्ने हो भने विचारका आधारमा राजनीतिक धू्रवीकरणको माध्यमबाट राष्ट्रिय शक्ति निर्माणमा लाग्नुपर्छ, यसबाटै अस्थिरताको अन्त्य हुन्छ, राष्ट्र बलियो हुन्छ, राष्ट्र बलियो हुँदा नागरिक बलिया हुन्छन् ।’ 
महासचिव पोखरेलले भन्नुभयो– चिन्ता देश बनाउने छ, तर नयाँ नयाँ दललाई राष्ट्रिय पार्टी बनाइएको छ, यसरी देश बन्दैन, मुलुकको उज्यालो भविष्यका लागि नीतिगत धू्रबीकरण अपरिहार्य छ, त्यसका लागि नीतिगत बहसमा राजनीतिलाई अगाडि बढाउनुपर्छ । 
महासचिव पोखरेलले पार्टीको प्रचार कामलाई राजनीतिसहितको प्रचारका रूपमा बुझ्नुपर्ने वताउँदै सोही अवधारणा बमोजिम सात प्रदेशमा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको वताउनुभयो । 
उहाँले पार्टी र नेताहरू विरुद्ध घेराबन्दी, प्रहार र भ्रमपूर्ण समाचार प्रवाह भइरहेको समयमा मुकदर्शक र रमितेजस्तो नबनी त्यस्ता भ्रमहरू चिर्नु र सही सूचना स्थापित गर्नु प्रचार संयन्त्रका सबै सदस्यको कर्तव्य हुने भनाइ राख्नुभयो । 
पार्टीका स्थायी कमिटी सदस्य तथा विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्षताका क्रममा एजेण्डा प्रस्तुतका साथै प्रचार विभागले गत एकमहिनामा सम्पादन गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो । 
बैठकमा प्रचार कार्यका लागि प्रदेश संयोजकको जिम्मेवारीमा रहनुभएका पोलिटव्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्यहरू निरज आचार्य, सुवास देवकोटा, राजिव पहारी तथा आमन्त्रित प्रदेश प्रचार विभाग प्रमुखहरू घनश्याम खतिवडा र रश्मि आचार्यको पनि उपस्थिति रहेको थियो । उहाँहरूले प्रचार कामबारे रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो । बैठकमा प्रचार तथा प्रकाशन विभाग सचिव गगन बिष्टले प्रस्तावित प्रचार कार्ययोजना, कार्यान्वयन तालिका प्रस्तुत गर्नुभएको थियो ।