detail-img

एमाले वायुपुत्र हनुमान जस्तै हो, कोही एक्लै लड्न सक्दैनन्ः अध्यक्ष ओली

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) देशको एकमात्र बलियो शक्ति भएको बताउनुभएको छ । 
नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीको पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले वायुपुत्र हनुमानजस्तै हो, यससँग कसैले एक्लै लड्न सक्ने हैसियत राख्दैनन् भन्नुभयो । 
अध्यक्ष ओलीले आगामी २०८४ सालको निर्वाचनमा देशका सबै वडाबाट बहुमत ल्याउने अभियानसहित ‘मिसन–८४, मिसन ५१ प्रतिशत’ अभियान चलाउन जिल्ला कमिटी र कार्यकर्तापङ्क्तिलाई निर्देशन दिनुभयो ।

 
उहाँले भन्नुभयो– अर्को निर्वाचनमा एमाले बाहेक कुनै दलका उम्मेदवारलाई अबिरमाला लाउने अधिकार छैन । त्यसका लागि पार्टीका सबै कार्यकर्ता सक्रिय र सबै कमिटीहरू चुस्तदुरुस्त हुनुपर्छ । 
पार्टीको कार्यकर्ता हुँ भन्ने तर पार्टीका नीति र कार्यक्रमको प्रचार नगर्ने, जनतामा नपुर्याउने व्यक्ति एमालेको कार्यकर्ता हुन नसक्ने भन्दै अध्यक्ष ओलीले आफूभित्र रहेका कमजोरीहरू आफैँले सच्याउनुपर्ने बताउनुभयो । गत निर्वाचनमा कुनै कार्यक्रम र योजना नभएका र राजनीतिक अनुभव र योगदान नभएकाहरूले समेत जितेको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले भन्नुभयो– हामीसँग यत्रो आन्दोलन, योजना, देश विकासको लक्ष्य र जेलनेलसम्मको इतिहास छ तर अहिले कुनै योजना नभएका उम्मेदबारलाई जिताउनु भनेको जनतालाई हामीले बुझाउने काममा कमी भएर हो । 
एमालेका कार्यकर्ताहरू विकासका अभियन्ता बन्दै उद्योग सञ्चालन गर्न र प्रत्यक्ष उत्पादनमा जोडिन सुझाउँदै उहाँले भन्नुभयो– हामीले अरुलाई सिकाउने मात्र होइन, आफैँले उत्पादनको अभियान सुरु गर्नुपर्छ । गाह्रो कुरो केही छैन,अहिले साग रोप्यो भने  एक डेढ महिनामा पैसा फलिहाल्छ । 
बैठकमा अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज शेरबहादुर तामाङ, पोलिटव्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्यहरू हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, बाग्मती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे, प्रदेश कमिटी सदस्यहरू लगायतको समेत उपस्थिति रहेको थियो । 
नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा बसेको बैठकमा ललितपुरका सबै पालिका कमिटीहरूको तर्फबाट मिसन ग्रासरुट अभियान लगायतका विषयमा रिपोर्टिङ गरिएको थियो ।