detail-img

पार्टीको एकल बहुमत ल्याउने योजना बनाई काममा  जुट्न गण्डकीका जनसंगठनलाई निर्देशन 

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अन्तर्गत जनसंगठनका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य  र प्रदेश अध्यक्षहरूको छलफल मङ्गलबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव  पृथ्वीसुब्बा गुरुङले योजनाबद्ध कामले गतिशीलता दिने हुँदा उत्कृष्ट परिणामका लागि उद्देश्यमुलक तवरले लाग्नुपर्ने बताउनुभयो । 
उत्पादनमूलक र निर्माणमूलक काम नै आजको आबश्यकता भएकाले संगठन निर्माणमा लाग्न आग्रह गर्दै गुरुङले पार्टी निर्माणका लागि युग सुहाउँदो काम चाहिने बताउनुभयो । उप महासचिव गुरुङले समाजवादको बाटो हुँदै समृद्धिको गन्तव्यका लागि एकल बहुमतका लागि अबको तयारी हुनुपर्ने बताउनुभयो ।


पार्टीका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले गतिशील पार्टी निर्माणका लागि सशक्त जनसंगठनबाट मात्रै सम्भव हुने भन्दै बिगतका हरेक उपलब्धिहरू उनीहरूको दरिलो र भरिलो साथले मात्रै  सम्भव भएको स्मरण गर्दै अब पनि जुझारु ढङ्गले लाग्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । 
सचिव बिष्टले बर्ग सङ्घर्षमा विजय हासिल गर्न सकारात्मक, उर्जाशील र रचनात्मक जनसंगठन अबको आबश्यकता भएको भन्दै सबै  पक्ष क्षमताको समुचित समयानुकूल उपयोग र परिमार्जनमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

स्थायी कमिटी सदस्य खगराज अधिकारीले  जनसंगठन पार्टीलाई पोषण दिने जरा भएको हुँदा  समन्वय प्रभावकारी बनाउन भेला उपलब्धिमूलक  हुने  उल्लेख गर्दै अधिकारीले एमालेलाई भौतिक शक्ति जनसंगठनबाट प्राप्त हुने भन्दै हरेक ठाउँमा प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभयो ।
स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले  एमाले जनतासँगै रहने  पार्टी  भएको हुँदा हर बखत जनताको घरदैलोमै रहनुपर्ने र सबै जनसंगठनका  नेता कार्यकर्ता त्यसतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सशक्तीकरणको आधार जनसंगठन भएको उल्लेख गर्नुभयो ।
अनेमसंघका अध्यक्ष टुकाभद्र हमालले सङ्घर्षको मैदानमा बिगतमा  सबै जनसंगठन हातमा हात मिलाएर हिडेको स्मरण गर्दै आउने दिनमा  अझै बलियो  सामुहिक गठजोड आबश्यक भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा  पार्टीका केन्द्रीय सदस्य तथा जनसंगठन गण्डकी संयोजक डा.सूर्य पाठक, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय  अध्यक्ष मनोहर बि.पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकीका अध्यक्ष रुद्र खत्री, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, अनेमसंघ गण्डकीका अध्यक्ष हिरा गिरी,  प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुरेश तिमिल्सिना, अखिल नेपाल किसान महासंघका अध्यक्ष  गोबद्र्धन गौली, राष्ट्रिय जनसाँस्कृतिक महासंघका इन्चार्ज  मनकुमार  श्रेष्ठ, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष निर्मल दियाली, अनेरास्ववियुका अध्यक्ष आर के पोख्रेल, राष्ट्रिय युवा संघ नेपालका संयोजक  विकास अधिकारी, भूतपूर्व सैनिक संगठन अध्यक्ष  शेरबहादुर  जि.सि., नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष सुजन लामा, बुद्धिजीवी परिषदका अध्यक्ष चन्द्र बहादुर थापा, पेशागत महासंघ गण्डकीका इन्चार्ज आर पि खनाल लगायतले आ–आफ्नो संगठनका गतिविधि र भावी योजनासहितको साङ्ठनिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका  जनसंगठन विभाग प्रमुख तथा एमाले गण्डकीका उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपसचिव मन्जु अधिकारीले गर्नु भएको  प्रचार तथा प्रकाशन विभाग  सदस्य रामजी प्रसाद लम्सालले   जानकारी दिनुभयो ।