काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीले आफ्ना विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ ।
प्रदेश संगठन कमिटीको यही साउन २२ गते सम्पन्न चौधौं पूर्ण बैठक तथा प्रचारसहित विभिन्न विभागद्वारा निर्मित कार्ययोजना आज पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको हो ।
कार्ययोजना अनुसार आगामी असोज १५ र १६ गते प्रदेश कमिटीको अधिबेशन सम्पन्न गर्ने, गण्डकी प्रदेश कार्यालय सञ्चालनका लागि भवन निर्माण गर्ने, पार्टी सदस्यताको प्रमाणीकरण साउन महिनाभित्र गर्ने, जिल्ला र पालिकाका योजना निर्माण गर्ने, वडा कमिटी निर्माण र बैठक भदौभित्र गर्ने, सबै जिल्लामा बिभागलाई पूर्णता दिने र बार्षिक कार्ययोजना निर्माण गर्ने रहेका छन् ।
त्यसैगरी प्रदेशभरिको प्रचार कार्यलाई व्यबस्थित बनाउन जिल्लाका प्रचार भेला र क्षमता अभिमुखीकरण गर्ने, प्रदेशको प्रचार एक्सन प्लान कार्यान्वयन गर्ने, प्रदेश अधिवेशन गर्न बाँकी सबै जन संगठनहरूका अधिवेशन सम्पन्न गरी उनीहरूको बार्षिक कार्यतालिका निर्माण गर्ने, सामुदायिक सरोकारजन्य बिषयको नेतृत्व गर्ने, प्रशिक्षक प्रशिक्षण कार्यक्रम पालिका तहसम्म विस्तार गर्ने योजना रहेको प्रदेश कमिटीका उपसचिव एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले पार्टीका कामलाई थप व्यबस्थित गर्दै एमालेलाई ब्राण्डिङ गर्ने योजना रहेको वताउनुभयो ।
उहाँले देशमा अराजकताको अन्त्य गर्ने सामथ्र्य एमालेसँग मात्रै रहेको, विकास र समृद्धिका स्पस्ट खाकासमेत आफुहरूसँग मात्रै भएको जिकिर गर्दै एमालेलाई जनताको बीचमा लोकप्रियताले उचाइ दिन सत्तामा हुँदा होस् या नहँुदा सधैं जनताकै साथमा रहने बताउनुभयो ।
पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले देशलाई बर्बादीतर्फ जान नदिन एमाले थप मजबुत बन्दै जनताका साथ अग्रमोर्चामा हुनैपर्ने उल्लेख गर्नुभयो ।
अधिकारीले एमालेलाई अझै प्रभावकारी भूमिका खेल्नसक्ने र एकल बहुमतसहितको पार्टीका रूपमा स्थापित गर्न अब सबै शक्ति केन्द्रित गर्नुको बिकल्प नभएको वताउनुभयो ।