detail-img

लेखा आयोगद्वारा पार्टीको लेखा एउटै ढाँचाको राख्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय लेखा आयोगको तेस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनको गम्भीर समीक्षा गर्दै निर्वाचन समीक्षाको निष्कर्ष सहितको सुझाव केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय गरेको छ ।

आयोगका अध्यक्ष डा.पुष्प कँडेलको अध्यक्षतामा २०७९ असार ४ र ५ गते पार्टी केन्द्रीय कार्यालय तुल्सीलाल प्रतिष्ठान ललितपुरमा बसेको बैठकमा आयोगका पदाधिकारी र सदस्यहरूले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा खेलेको भूमिका र आयोगका कामका सम्बन्धमा प्रतिवेदन पेश गर्नुका साथै निर्वाचनका सन्दर्भमा आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

आयोगले पार्टीको कोष व्यवस्थापनका लागि लेखापरीक्षण नियमावली, लेखा निर्देशिका एवं लेखा ढाँचा पारित गर्दै अब पार्टीव्यापीरूपमा एउटै ढाँचाको लेखा राख्ने निर्णय गरेको छ ।

सोही ढाँचा बमोजिमको सफ्टवेयर निर्माण गर्न पार्टी केन्द्रीय कमिटीलाई अनुरोध गर्ने र पार्टीको लेखा तथा कोष व्यवस्थापनसँग सम्बन्धित नियम, विनियम र प्रशिक्षण पुस्तिका प्रकाशन गर्ने निर्णय गरेको आयोगका सचिव शिव अधिकारीले वताउनुभयो ।

त्यसैगरी, बैठकले पार्टी नियमावली बमोजिम सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीमा लेखा कमिटी गठन गर्ने व्यवस्था मिलाउन पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले कोष तथा लेखा व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, सम्पूर्ण पार्टी कमिटी र जनसंगठनहरूको लेखापरीक्षण गर्ने, लेखा व्यवस्थापन मूल्याङ्कन प्रणाली स्थापना गर्दै हरेक वर्ष उत्कृष्ट लेखा व्यवस्थापन गर्ने पार्टी कमिटी घोषणा गर्ने र पार्टीको देशभर रहेको स्थीर सम्पत्तिको अभिलेख सङ्कलन गरी प्रतिवेदन तयार गर्ने कार्यक्रम सहितको वार्षिक कार्ययोजना पारित गरेको छ ।

बैठकमा आयोगका अध्यक्ष डा.कँडेलले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुहुँदै भएका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लेखा व्यवस्थापनमा प्रभावकारिता ल्याउन आयोगका सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिनुभएको थियो ।