detail-img

विभिन्न निर्णय गर्दै केन्द्रीय सचिवालयको २४औं बैठक सम्पन्न

काठमाडौं । नेकपा (एमाले)ले सुन तस्करी काण्डको छानविनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्नु अनिवार्य रहेको निष्कर्ष निकाल्दै समिति गठनको माग गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज बसेको केन्द्रीय सचिवालयको २४औं बैठकले समिति गठनको माग लगायत विभिन्न निर्णय गरेको छ । 
अध्यक्ष ओलीले मुलुकको वर्तमान परिस्थिति र समसामयिक राजनीतिका विषयमा बैठकमा सम्बोधन गर्नुभएको थियो ।


बैठकले समसामयिक विषय र संगठनसम्बन्धी गरेका विभिन्न निर्णयहरू यसप्रकार छन्ः
१.     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय हुँदै भित्रिएको क्विण्टल भन्दा बढी सुनको निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक छानविन समिति गठन गर्नु अनिवार्य छ । हाम्रो पार्टी समिति गठनको माग गर्दछ । 
२.    पार्टीका प्रदेश अधिवेशनहरू आगामी असोज मसान्तसम्म सम्पन्न गर्ने गरी निम्नबमोजिम मिति निर्धारण गरिएको छः
क)  भदौ १६–१७ लुम्बिनी 
ख)  असोज ५–६ मधेश
ग)  असोज ८–९ बागमती
घ)  असोज १०–११ कर्णाली
ङ)  असोज १२–१३ कोशी
च)  असोज १५–१६ गण्डकी
छ)  असोज १९–२० उपत्यका विशेष
ज)  असोज २१–२२ सुदूरपश्चिम
३)  बैठकले अधिवेशनमा प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारण गरेको छ । सो अनुसार प्रतिनिधि चयनका लागि पालिकालाई निर्वाचन क्षेत्र तोकिएको छ भने कमिटीमा युवा सहभागिताको सुनिश्चितता गर्नुपर्ने निर्णय गरेको छ । सो अनुसार प्रदेशमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा र टोलमा एकतिहाई युवा प्रतिनिधित्वको सुनिश्चित गरेको छ ।  
४)  बैठकले केन्द्रीय सदस्यमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गरेको छ । त्यसैगरी, शंकरदत्त जोशी र सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्मा र केन्द्रीय संगठन विभागको सचिवमा केन्द्रीय सदस्य माधव ढुङ्गेललाई मनोनयन गरिएको छ । 
५) बैठकले राष्ट्रिय युवा संघ नेपालको कन्चनपुर जिल्ला अधिवेशनमा भएको घटनाको छानविनका लागि उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह रहनुभएको कार्यदल गठन गरेको छ ।