जनप्रतिनिधिले आफ्नो काम प्रस्तुत गर्ने महत्वपूर्ण अवसर
काठमाडौँ । नेकपा (एमाले)का केन्द्र, प्रदेश र नगर तथा गाउँका गरी तीनहजार १६४ जना नेता आगामी मङ्सिर २ र ३ गते सङ्घीय राजधानी काठमाडौंमा राष्ट्रिय भेलामा एकैठाउँ सहभागी हुँदै छन् । महाधिवेशनपछि आयोजना हुन लागेको सबैभन्दा ठूलो यो राष्ट्रिय भेला पार्टीको आन्तरिक जीवनमा अत्यन्त महत्त्वको हुने छ ।
राष्ट्रिय भेला यस अर्थमा महत्त्वको हुने छ, पार्टी जीवनमा रक्तसञ्चार, पुनर्ताजगी, तेस्रो केन्द्रीय कमिटीले दिशा निर्देश गरेका दुई कार्यभार र १५ कामलाई तल्लो कमिटीसम्म सम्प्रेषण, पार्टी शुद्धिकरण र सुदृढीकरणको लगायत विषयमा घनीभूत छलफल हुने छ ।
पार्टी इतिहासमा संगठनात्मक संरचनाभित्र यति ठूलो सङ्ख्यामा पार्टीको केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मका नेताहरु, जननिर्वाचित प्रतिनिधिहरु एकैठाउँ भेला हुने यो पहिलो अवसर हो । खुला आमसभा गरी बन्दसत्रमा छलफल गर्ने यसअघिको परम्परालाई समेत परिवर्तन गरी बन्दसत्रमा छलफल गर्ने सङ्ख्या पनि सबैभन्दा ठूलो हो । केन्द्रीय कमिटीदेखि पालिका कमिटीसम्म, विभिन्न तहका जनप्रतिनिधि, जनसंगठनका नेताहरु राष्ट्रिय भेलामा सहभागी हुने छ ।
गत फागुन २१ को निर्वाचनमा पार्टीले बेहोरेको ‘अस्थायी धक्का’ पछि पार्टीपङ्तिमा देखिएको केही असजहजताको खाडल पुर्नका लागि भेलाको महत्व बढी देखिन्छ । भेला मुलतः पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा केन्द्रित हुनेछ । जसबाट पार्टीपङ्क्तिमा एउटै बुझाइ र लय विकास हुने छ ।
पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णयका आधारमा पार्टीलाई एकताबद्ध बनाउनका लागि नेता तथा कार्यकर्तालाई उत्साहित र सक्रिय बनाउन राष्ट्रिय भेलाले महत्वपूर्ण भूमिका खेल्ने छ ।
हरेक चुनाव र आन्दोलनमा पार्टीले सकारात्मक परिणामहरु निकालेको विगतको सामर्थ्य पुनः प्रर्दशन गर्न भेलामा नगर कमिटीदेखि केन्द्रीय तहसम्म घनिभूत छलफल हुने छ । यो भेलाले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि समेत पार्टीपङ्क्तिलाई प्रेरित गर्ने छ ।
भेला स्थानीय तहमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले आफूले गरेका र जनताले ‘वाह !’ भनेका आ–आफ्ना पालिकाका ५ र ७ वटा कामको सूची तयार गरेर प्रस्तुत गर्ने अवसर पनि हो ।
राष्ट्रिय भेला जिल्लाका नेताहरू (अध्यक्ष÷उपाध्यक्ष)लाई आफ्नो जिल्लाको स्थानीय तहको समग्र अवस्था (पालिकाअनुसार)को मूल्याङ्कन, जिल्ला र प्रदेश इन्चार्जहरूले समग्र जिल्ला र प्रदेशको परिस्थित, गत फागुन २१ को चुनावमा कुन पालिकामा पार्टीको अवस्था कस्तो रह्यो भन्ने विवरण समेत दिने अवसर हो ।
राष्ट्रिय कार्यकर्ता भेला (२०८३ मङ्सिर २ र ३ गते, कार्की ब्याङ्क्वेट, काठमाडौंमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ सम्पन्न हुने छ ।
राष्ट्रिय भेलामा मूलतः तीनवटा महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत हुने छन् । पहिलो, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको केन्द्रीय कमिटीले तय गरेका आगामी दुई कार्यभार र पन्ध्र कामका बारेमा सम्बोधन गर्र्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीपङ्तीलाई दिशा निर्देश गर्नुहुने छ । अध्यक्षबाट वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको राजनीतिक दृष्टिकोण र आगामी दिशाबारे स्पष्ट मार्गनिर्देशन हुने छ । पार्टीका बरिष्ठ नेता, पूर्व राष्ट्रपति विद्या भण्डारीले गर्ने सम्बोधनले पार्टीपङ्तीलाई ऊर्जा दिने छ । पार्टीमा नेकपा (एमाले)को नेतृत्वमा गठन भएका सरकारहरूले गरेका महत्त्वपूर्ण काम तथा उपलब्धिहरूसम्बन्धी कार्यपत्र पार्टीका उपाध्यक्ष विष्णु पौडेलले पेश गर्नुहुनेछ । त्यसैगरी पार्टी शुद्धिकरण, सुदृढीकरण र आगामी निर्वाचनको कार्ययोजनासम्बन्धी कार्यपत्र महासचिव शंकर पोखरेलले पेश गर्नुहुने छ ।
भेलामा सहभागी हुने सबै जिम्मेवार प्रतिनिधिहरूलाई पार्टीले अनिवार्य उपस्थितिका लागि निर्देश गरेको छ । यो भेलाले पार्टीका आसन्न वडा अधिवेशन र पालिका तहका अधिवेशनहरू सौहाद्रपूर्ण वातावरणमा एकताबद्ध र उत्साहका साथ सम्पन्न गर्न सिङ्गो पार्टीपङ्तीलाई ऊर्जा दिने विश्वास गरिएको छ । त्यसैगरी आगामी स्थानीय तहको निर्वाचनमा एमालेको विजयका लागि आधार तयार गर्ने छ । समग्रमा पार्टी एकताबद्ध, योजनाबद्ध, संगठनात्मक रुपमा सुदृढ छ सन्देश जनताबीच पुग्नेछ ।
राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुनेहरूः
- पार्टी केन्द्रीय कमिटीका सदस्यहरू
- केन्द्रीय निकायका सदस्यहरू
- प्रदेश कमिटीका पदाधिकारीहरू ( सम्पर्क समन्वय, ओएनएफ र भारत प्रवास समेत )
- जिल्ला कमिटीका पदाधिकारीहरू ( सम्पर्क र विशेष सहित ८८ जिल्ला कमिटी )
- पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षहरू
- जनसङ्गठनः अनुसूची १ अन्तर्गतका संगठनबाट ५/५ जना , अनुसूची २ अन्तर्गतका संगठनबाट ३/३ जना
- जनप्रतिनिधिहरूः राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यहरू, प्रदेश सभा सदस्यहरू , जिल्ला समन्वय समितका प्रमुख र उपप्रमुखहरू, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरू
