काठमाडौं । नेकपा (एमाले)ले पार्टीका नेता, पूर्व केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य बाबुराम गौतमको असामयिक निधनको खबरले पार्टी मर्माहत भएको जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले नेता गौतमको निधनमा शोक वक्तव्य जारी गर्नुभई उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजन, आफन्त र सम्पूर्ण शुभेच्छुकहरूमा पार्टीको तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
‘२००२ सालमा गुल्मीको थोर्गामा जन्मनुभएका गौतम सङ्घर्षशील, सादगी, सरल, इमान्दार र निष्ठाको राजनीतिमा समर्पित योद्धा हुनुहुन्थ्यो’ स्मरण गर्दै पार्टीले उहाँको निधनबाट एक निष्ठावान् अभिभावक र देशले राजनीतिक र सामाजिक क्षेत्रको एक सच्चा जनसेवक गुमाएको जनाएको छ ।
२०२३ सालमा बनारसमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालबाट पार्टी सदस्यता लिनुभई बाँके र नेपालगञ्जलाई कर्मथलो बनाई नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुभएका गौतम भूमिगत कालमा भेरी–कर्णाली क्षेत्रको सचिव, बाँके जिल्ला कमिटीको सचिव (प्रमुख) र त्यसपछि भेरी अञ्चल कमिटीको सदस्य र कार्यालय सचिवका रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ २०७४ सालको प्रदेश सभाको निर्वाचनमा लुम्बिनी प्रदेश सभाको सदस्य निर्वाचित हुनुभएको थियो ।
पार्टीका पुराना नेता गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
सेयर गर्नुहोस्
