detail-img

कोशी प्रदेशमा गठबन्धनबाट निर्लज्जताको पराकाष्टाःअध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशीप्रदेशमा गठबन्धनले निर्लज्जताको पराकाष्ठा प्रदर्शन गरेको बताउनुभएको छ । 
नेकपा (एमाले) कोशी प्रदेश संगठन कमिटीको सातौं पूर्ण बैठकलाई विराटनगरमा आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेशमा सत्तागठबन्धनले फोहोरी खेल खेलेको बताउनुभयोे । 
उहाँले सरकार गठनमा गठबन्धन आबद्ध दलले संविधान तथा लोकतान्त्रिक मूल्य मान्यता विपरीत काम गरिरहेको बताउनुभयो । 
अध्यक्ष ओलीले कोशी प्रदेश सरकार बलजफ्तीको सरकार भएको र बन्दै नबनेको सरकार कामचलाउन पनि हुन नसक्ने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– सभामुखलाई दलीय काममा लगाउने अधिकार संविधानले दिँदैन, कोशीमा यो व्यवस्था बिरोधी काम भयो । दुनियाँको पार्लियामेन्टको इतिहासमा यस्तो भएको छैन र हँुदैन, यो निर्लज्जताको पराकाष्ठा हो ।


उहाँले लिगलिगकोटमा कुदेर कुर्सीमा बसेजस्तो गरी सरकार नबनिने भन्दै म्युजिकल चेयरमा पनि नियम हुने सम्झाउनुभयो । 
प्रदेशमा संविधान र व्यबस्था बिरोधी काम भइरहँदा केन्द्रको गठबन्धन मौन बस्नु आश्चर्यजनक कार्य भएको उहाँको भनाइ छ । 
अध्यक्ष ओलीले भन्नुभयो– अदालतले समेत यो सरकार गठन अवैध भएको जनाएको छ । तर पनि गठबन्धन दलहरू त्यसलाई स्वीकार्न चाहिरहेका छैनन् ।
उहाँले प्रदेशको नाम कोशी उपयुक्त भएको तर गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो– यहाँ सबै जातजाति किराँत, लिम्बूवान, मधेसी, थारु, शेर्पा सबैले न्याय पाउनुपर्छ । 
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहे स्वागत गर्ने बताउनुभयो । 
उहाँले भण्डारी राजनीतिमा आउन चाहे कसैले नरोक्ने बताउनुभयोे । अध्यक्ष ओलीले भन्नुभयोे–उहाँले राजनीति गर्छु भन्दा रोक्ने को ? उहाँलाई कसले रोक्छ, कसरी रोक्छ ? हामी त उहाँलाई स्वागत गर्न चाहन्छौ ।
पूर्वराष्ट्रपति भण्डारी पार्टीको आदरणीय व्यक्ति भएको अध्यक्ष ओलीले बताउनुभयो । 
आगामी असोज १२–१३ गते एमाले कोशी प्रदेश कमिटीको पहिलो प्रदेश अधिवेशन हुँदैछ । बैठकबाट प्रदेश अधिवेशनलाई लक्षित गरी विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरिएको प्रदेश अध्यक्ष तुलसी न्यौपानेले जानकारी दिनुभयो । बैठकले प्रतिनिधि छनौटको आधार तय गरेको छ । अधिवेशनमा एकहजार एकसय प्रतिनिधि सहभागी हुनेछन् ।