detail-img

प्रजा परिषद् राजनीतिक परिवर्तनको प्रथम विगुल


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलहरुले देश र जनताका लागि काम गर्नुपर्ने वताउँदै दलहरुको लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई साकार पार्ने हुनुपर्छ भन्नुभएको छ ।  


अध्यक्ष ओलीले टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले २०७९ असार ९ गते राजधानीमा आयोजना गरेको १९९७ साल असार ९ गते राणाशासन विरुद्ध छरिएको पहिला पर्चा र २००८ साल असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ बिषय संवाद कार्यक्रममा उक्त विचार व्यक्त गर्नुभएको हो । 


२००७ सालको क्रान्तिपछि  टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाएको भए नेपालका कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लाग्ने थिएन भन्दै अध्यक्ष ओलीले भन्नुभयो– “२००७ सालपछि आफ्नै सहयात्री दललाई नेपाली कांग्रेस सहभागी सरकारले प्रतिबन्ध लगायो ।” 


उहाँले २००७ सालपछि आचार्यलाई प्रधानमन्त्री बनाउन सकेको भए  मुलुक अहिले जस्तो हुने थिएन भन्दै आचार्यको विचार र संगठनले मात्र २००७ सालको क्रान्ति सम्पन्न भएको धारणा राख्नुभयो । 


अध्यक्ष ओलीले २००७ सालको परिवर्तनपछि मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउँदा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लागेको र टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएको बताउनुभयो । 
उहाँले टंकप्रसाद आचार्यले छरेको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनको प्रारम्भ विन्दु समेत भएको बताउनुभयो । “प्रजा परिषद्का उद्देश्य अमर  छन्, ति बाँचिरहन्छन्” उहाँले भन्नुभयो ।”


प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टंकप्रसाद आचार्यले छरेको पर्चाले मुलुकमा राजनीतिक जागरण आएको बताउनुभयो । 


सोही कार्यक्रममा अरविन्द रिमाल र डा. महेश्वर शर्मालाई जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल गठनमा पु-याएको योगदान स्वरुप सम्मान गरिएको थियो । 
टंकप्रसाद आचार्यले पर्चा छरेको दिनको सम्झनामा असार ९ गते पर्चा दिवस मनाइने गरिन्छ ।