detail-img

देशलाई कठिन समयबाट आजको अवस्थामा ल्याउन स्व. नेम्वाङको भूमिका अविस्मरणीयः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान निर्माणको क्रममा देशलाई जातीय राज्यका नाममा विभाजन गर्ने षडयन्त्रलाई एमालेले असफल पारेको र त्यसमा स्व. सुवास नेम्वाङको योगदान महत्वपूर्ण रहेको वताउनुभएको छ । 
संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष स्व.नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित शोक सभामा महासचिव पोखरेलले उक्त कुरा वताउनुभएको हो । 
संविधान निर्माणका समयमा जातीय, क्षेत्रीय राज्य बनाउनुपर्छ भन्ने खालका विचारहरू प्रकट गरी सिङ्गो राष्ट्रलाई कमजोर बनाउने प्रयास भएको स्मरण गर्दै ती विचार र प्रयासहरूलाई असफल पारी राष्ट्रलाई एकतामा जोड्ने काममा एमालेलाई जुन सफलता प्राप्त भयो, त्यसमा स्व. नेम्वाङको असाधारण भूमिका रहेको महासचिव पोखरेलले वताउनुभयो । 
संविधान जारी गर्ने समयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रपति रामवरण यादवसमेत भारतीय विदेश सचिवको भेटघाटबाट प्रभावमा परी संविधान तत्काल जारी नगर्न सहमत भइरहेको स्थितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको संविधान लेखिसकिएकाले जारी गर्नुपर्छ भन्ने अडान बमोजिम संविधान सभाका अध्यक्ष नेम्वाङ संविधान सभामा अगाडि बढेकाले संविधान २०७२ असोज २ गते जारी गर्ने अवस्था सिर्जना भएको उहाँले स्पष्ट गर्नुभयो ।


संविधान निर्माण र जारी गर्ने समयका पीडा र समस्या कहालीलाग्दा भएको स्मरण गर्दै महासचिव पोखरेलले देशलाई कठिन समयबाट आजको अवस्थामा ल्याउन स्व. नेम्वाङले अविस्मरणीय भूमिका निर्वाह गर्नुभएको वताउनुभयो । स्व.नेम्वाङप्रति सम्मान प्रकट गर्न चाहनेहरूले उहाँको भावना र  विचारलाई आत्मसात् गर्नुपर्ने उहाँको भनाइ छ । 
महासचिव पोखरेलले स्व.नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभई संसदीय मामिलाको अत्यन्त मर्म बुझेको व्यक्तिका साथै कानुनका क्षेत्रमा सधै पार्टीको सल्लाहकारको भूमिकामा रहनुभएको थियो भन्नुभयो । 
नेपालको राष्ट्रिय राजनीतिमा देखिएको राजनीतिक अस्थिरताको दुष्चक्रबाट नेपाली समाजलाई बाहिर ननिकाली प्रगति असम्भव रहेको समयमा उपाध्यक्ष नेम्वाङलाई गुमाउनु पार्टीका लागि ठूलो क्षति भएको वताउँदै उहाँले भन्नुभयो– शोकलाई शक्तिमा बदल्ने सङ्कल्प गर्नुपर्छ र बलियो राष्ट्रिय शक्ति निर्माणको काम पूरा गर्नुपर्छ । 
शोकसभामा पार्टीका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा, केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य राम राना लगायत नेताहरूले राष्ट्रिय राजनीतिमा स्व.नेम्वाङको योगदान, उहाँको पारिवारिक पृष्ठभूमि, बानी व्यवहार, शुद्धता, स्वच्छता लगायतका विषयमा चर्चा गर्नुका साथै नेम्वाङको निधनबाट इलामेली जनता, नेकपा (एमाले) मात्र नभई राष्ट्रकै लागि क्षति भएको वताउनुभयो । 
सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इन्द्र भण्डारीले गर्नुभएको थियो ।