detail-img

एमालेको खबरदारीपछि पेट्रोलियमको मूल्यबृद्धि फिर्ताः महासचिव पोखरेल

पोखरा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारले देशलाई गम्भीर आर्थिक सङ्कटमा लैजाने काम गरिरहेको बताउनुभएको छ । 
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटनपछि सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार दिनप्रतिदिन जनहित विपरीत कार्यमा लागेको बताउनुभयो । 
पछिल्लो पटक पेट्रोलियम र एलपी ग्यासमा चर्को मूल्यबृद्धि गरेको सरकारले नेकपा (एमाले)ले गरेको खबरदारीका कारण पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन बाध्य भएको स्पष्ट गर्नुभयो ।  
वर्तमान गठबन्धन सरकार जनताको नभइ दलाल नोकरशाहीको भएको र नोकरशाहीहरूकै हितमा काम गरिरहेको उहाँको भनाइ छ ।
मुलुकमा आउने विभिन्न सङ्कटहरू नेकपा (एमाले) र एमाले नेतृत्वको सरकारले सजिलै परास्त गर्ने गरेका विगत घटनाक्रमहरूको चर्चा गर्दै महासचिव पोखरेलले देशको विद्यमान आर्थिक सङ्कट निवारण गर्नसक्ने क्षमता पनि नेकपा (एमाले)सँग मात्रै रहेको बताउनुभयो । देशलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान जारी गर्न र त्यसलाई कार्यान्वयनका लागि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गरेको उहाँको भनाइ छ ।


उद्घाटन समारोहमा अधिवेशनको सफलताको शुभकामना दिनुहुँदै पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अझै १० वर्ष एमालेमा केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभयो । अध्यक्ष ओली नभए राष्ट्रिय स्वाधीनताको यात्रा बिथोलिन सक्ने बताउँदै गुरुङले पार्र्टीको मात्र नभई मुलुककै नेतृत्वका लागि पनि ओलीको अपरिहार्यता रहेको धारणा राख्नुभयो । 
त्यसैगरी पार्टीका सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज गोकर्ण विष्टले नेकपा (एमाले) बलियो भएमात्र जनताको अधिकारको रक्षा हुने बताउनुभयो । नेपाली युवाले युरोप अमेरिका र जापानको सपना देखिरहेको र नेकपा (एमाले) युरोप र जापानका युवाको गन्तव्य नेपाल हुने गरी काम गर्ने योजनाका साथ अगाडि बढिरहेको सचिव विष्टको भनाइ थियो । 
गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पार्टीका सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, थममाया थापा लगायत नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनुका साथै पार्टीको आन्तरिक एकता बलियो बनाई पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।