एमाले आज

संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीको रक्षा यतिबेलाको प्रमुख कार्यभारः अध्यक्ष ओली

सेयर गर्नुहोस्

-यही असोज ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीलाई अझ सुदृढ एकताका साथ अघि बढाउने छ

३ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीको रक्षा पार्टीको यतिबेलाको प्रमुख कार्यभार भएको बताउनुभएको छ । 
१२औं संविधान दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय, च्यासल प्राङ्गण्मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कार्यभार सफल बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न शक्तिहरु लागिरहेका र देश पछाडि धकेलिएको अवस्थामा रहेको बताउँदै उहाँले रोकेर अगाडि फर्काउनु जरुरी रहेको र त्यसको अगुवाई एमालेले गर्ने पनि स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले पार्टीविरुद्ध विभिन्न कोणबाट हमला भइरहे पनि त्यस्ता प्रयासले एमाले र आफूलाई कमजोर बनाउन नसक्ने बताउनुभयो । 
यही असोज ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीलाई अझ सुदृढ एकताका साथ अघि बढाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । केन्द्रीय कमिटी बैठकबाट पार्टी थप एकताबद्ध र उच्च मनोबलका साथ अघि बढ्ने उहाँको भनाइ थियो । 
अध्यक्ष ओलीले आफू लामो राजनीतिक सङ्घर्षबाट यहाँसम्म आइपुगेको भन्दै अहिले भइरहेका प्रयासबाट नडराउने प्रष्ट पार्नुभयो । 
उहाँले आफूलाई महाभारतका भीष्मपितामहसँग तुलना गर्दै आफू मैदान छाडेर भाग्ने अवस्थामा नरहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– भीष्मपितामह शरशय्यामा ढलेका थिए, केपी ओली ढलेको छैन, मैदानमा खडा छ ।
राजनीतिक जीवनमा आफू यत्तिकै अहिलेको अवस्थामा आएको नभई एउटा महाभारत होइन, १० वटा महाभारत लडेर आएको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले नेकपा (एमाले)लाई यही तालले सिध्याउँछु भनेको होला, कुनै तालले एमाले सिद्धिनेवाला छैन, यो नेपाली जनताको साँचो प्रतिनिधि पार्टी हो, साँचो प्रतिनिधि शक्ति हो ।
एमाले कुनै अन्धविश्वासका आधारमा नभई वैचारिक रूपमा सचेत भएर अघि बढिरहेको पार्टी भएको बताउँदै उहाँले केन्द्रीय कमिटी बैठकपछि पार्टी अझ सक्रिय, अझ उच्च मनोबलका साथ अगाडि बढ्ने र प्रतिक्रियावादी शक्तिका विरुद्ध लडेर पराजित गरी नेपालको निर्णायक शक्तिका रूपमा फेरि स्थापित विश्वास व्यक्त गर्नुभयो ।
देशका लागि सही नीति एमालेले मात्र दिन सक्ने बताउँदै अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्तालाई दृढ मनोबलका साथ अघि बढ्न आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो– प्रतिक्रियावादीले भुइँमा ढ्यापढ्याप हान्दा डराएर भाग्ने होइन, हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौँ, फेरि पनि पञ्जा लडाउँदा हामीले विजय हासिल गर्नेछौँ ।
प्रतिगमनले केही समय जिते पनि अन्ततः सत्यको जित हुने विश्वास अध्यक्ष ओलीले व्यक्त गर्नुभयो । भ्रमलाई लामो समयसम्म सत्यका रूपमा स्थापित गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो– प्रतिगमनले एकछिन जिते पनि सत्यले सधैँका लागि जित्छ ।
अध्यक्ष ओलीले आफू र एमालेबारे पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति टिप्पणी गर्दै ती समाचार शतप्रतिशत झुठा रहेको बताउनुभयो । उहाँले त्यस्तो पत्रकारिताप्रति दया लागेको बताउनुभयो । ‘कठैबरी, कोही–कोही पत्रकार देखेर त माया पनि लाग्छ, यति झुट, यति असत्य किन फैलाएर हिँड्नुपरेको होला ?’ उहाँले प्रश्न गर्नुभयो ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकपछि एमाले मजबुत एकता र कामको सङ्कल्पका साथ अघि बढ्ने बताउनुभयो ।  
अध्यक्ष ओलीले आफ्नो राजनीतिक जीवनमा लामो समयदेखि सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै अमरसिंह थापा आफ्नो उमेरमा तरबार बोकेर युद्धको मैदानमा रहेको तर आफू भने कलम लिएर राजनीतिक सङ्घर्षको मैदानमा रहेको बताउनुभयो । 
उहाँले पार्टीका सबै नेता–कार्यकर्तालाई जनताका बीचमा गएर संगठित रूपमा अघि बढ्न आग्रह गर्नुभयो । देश नेपाली जनताको साझा भएको उल्लेख गर्दै उहाँले देशलाई बिग्रन नदिन सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले पछिल्लो समय देशमा बाढीबाट ठूलो क्षति भएको उल्लेख गर्दै उद्धार तथा राहतमा एमाले सक्रिय रहेको र  विपद्पछिको पुनःनिर्माणको चरणमा पनि एमालेले भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।
अहिले पनि राष्ट्र, लोकतन्त्र र संविधानमाथिको चुनौती अन्त्य भइसकेकोे छैनः महासचिव पोखरेल
कार्यक्रम सञ्चालन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेपालको संविधान जनअधिकारका दृष्टिले दुनियाँका उत्कृष्ट संविधानमध्ये पर्ने बताउनुभयो । 
संविधान जारी गर्दाका प्रतिकूलताहरुको स्मरण गर्दै उहाँले प्रतिकूलताका बीचमा पनि नागरिकका ३१ मौलिक अधिकार प्रत्याभूत गरेर संविधान जारी गर्ने महत्वपूर्ण काम भएको बताउनुभयो । 
२०८२ भदौ २४ को विध्वंश र त्यसयता सरकारबाट संविधान र कानुनलाई कमजोर बनाउने र स्वेच्छाचारी ढङ्गले काम अगाडि बढाउने भइरहेकाले खवरदारी गर्नुपर्ने भनाइ महासचिव पोखरेलले राख्नुभयो ।  
उहाँले अहिले पनि राष्ट्र, लोकतन्त्र र संविधानमाथिको चुनौती अन्त्य भइनसकेकोे बताउनुभयो । 
कार्यक्रममा पार्टीका उपाध्यक्षहरु रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिवहरु, सचिवहरु लगायत नेताहरुको उपस्थिति रहेको थियो । 

हामीसँग जोडिनुहोस्