बिजुवार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न पार्टीले नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताउनुभएको छ ।
नेकपा (.एमाले) प्युठानद्वारा आइतबार (२०८० असोज २८ गते) बिजुवारमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेस सभासद् कार्कीलाई समर्थन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– कोशी प्रदेशमा मध्यावधिमा जाने अवस्थामा पुग्यो । हामी मध्यावधिमा पनि जान तयार थियौँ । तर, एउटा प्रदेशमा मध्यावधि हुँदा धेरै ठूलो खर्च हुन्छ । त्यसैले मध्यावधिबाट जोगाउनका लागि यो पल्ट जोसुकैलाई सहयोग गरेर भए पनि मध्यावधिमा जानबाट जोगाएका हौँ ।
कोशी प्रदेशमा एमालेको ४० सिट, कांग्रेसको २९ र माओवादीको ८ सिट रहेको भन्दै केन्द्रमा ३२ सिटका पछि लागेको कांग्रेस कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर भनेपछि कांग्रेसकै केही सांसदले विद्रोह गरेको उहाँको भनाइ थियो । ‘केही विद्रोही चेत पनि चाहिने रहेछ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले २०८४ को निर्वाचनमा हरेक वडादेखि केन्द्रसम्म ५० प्लस ल्याउने अभियानसहित अघि बढ्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । ‘हरेक वडाबाट एमाले एक्लैले ५१ प्रतिशत भन्दा बढी ल्याउनुपर्छ । नेकपा (एमाले)ले जनताको साथ लिएर आफ्नै शक्ति निर्माण गर्नुपर्छ, र परिवर्तनगामी शक्तिसँग मिलेर अघि बढ्नुपर्छ ।’
अध्यक्ष ओलीले भन्नुभयो– सुशासन विरोधी शक्तिहरूसँग मिलेर सुशासन ल्याउन सकिँदैन । भ्रष्ट तत्वहरूसँग मिलेर सदाचारी शासन चलाउन सकिन्न । त्यसैले हरेक ठाउँबाट एमालेलाई एकल बहुमत चाहिएको छ । हरेक पालिकाहरूबाट, वडाहरुबाट, प्रदेशबाट, केन्द्रबाट सबैतिरबाट एमालेले एकल बहुमत प्राप्त गर्नुपर्छ । त्यसका लागि सबै साथीहरू एक ताल एक लयका साथ अघि बढ्न आग्रह गर्दछु ।
उहाँले धेरै बाजाहरू बजे पनि एउट ताल हुने दृष्टान्त प्रस्तुत गर्दै एमाले एकै ताल एकै सुरमा अघि बढ्नुपर्छ भन्नुभयो ।
‘एमालेका नीति, निर्णयमा एकै ताल, एकै सुरमा हिड्नुपर्छ । अराजकता स्वेच्छाचारिता लोकततन्त्र होइन । देशका लागि, जनताका लागि जानेर बुझेर सकारात्मक सोचका साथ सबै लाग्नुपर्छ ।
अध्यक्ष ओलीले युवा पुस्तालाई अघि बढाउने एमालेको नीति भएको भन्दै नदीले कुनै पनि भङ्गालो मिसिएपछि भेदभाव नगर्ने दृष्टान्त प्रस्तुत गर्नुभयो ।
नेकपा (एमाले) प्युठान जिल्ला अध्यक्ष विजयविराज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापा पनि बोल्नुुभएको थियो । कार्यकर्ता भेलामा नेकपा (एमाले)ं लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, नेता हरि रिजाल, प्रदेश सभासद् तुल्सीराम शर्मा लगायत नेताकार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
अध्यक्ष ओलीले नौबहिनी गाउँपालिका कार्यालय भवनको आजै भव्य समारोहबीच उद्घाटन गर्नुभयो । उहाँले उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको थियो ।
यसैबीच, अध्यक्ष ओली दर्शनका लागि स्वर्गद्वारी आश्रम पुग्नुभयो । आश्रममा आएर दर्शन गर्न पाउँदा खुशी लागेको र मन पवित्र बनाएको वताउनुभयो । अध्यक्ष ओलीसँग स्वामी ध्यानानन्द गिरीले आश्रमको अवस्था र समस्या सम्बन्ध जानकारी गराउँदै सुधारका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
स्वामी गिरीले स्वर्गद्वारी आश्रममा संरक्षित गाईहरूका लागि व्यवस्थित गौशाला नभएकाले धेरै समस्या रहेको भन्दै करिब एक हजार गाई अटाउने व्यवस्थित गौशाला निर्माण, दैनिक दर्शनार्थीहरूको चाप बढेसँगै हालको धर्मशाला अपुग र जीर्ण भएकाले करिब एकहजार जनालाई व्यवस्थापन हुने गरी आधुनिक धर्मशाला निर्माण, सडक सुधार तथा स्तरोन्नति लगायत विषय समेटेर लिखित ध्यानाकर्षण गराउनुभएको थियो । गिरीले आश्रममा अध्ययनरत आवासीय विद्यार्थी (वटुक)हरूका लागि सुविधा सम्पन्न गुरुकुल भवनको व्यवस्था र अध्ययनका लागि आधुनिक पुस्तकालय भवन निर्माण गर्नुपर्ने अवस्थाका बारेमा जानकारी गराउनुभयोे ।