detail-img

‘त्याग र बलिदानको उपहास गरेर झिल्के कुरा गर्नेहरूबाट जनतालाई जोगाउनुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असल उद्देश्य र सही गन्तव्यमा हिँडेको र आफूलाई अद्यावधिक गर्दै आएको एमाले गतिशील पार्टी भएको बताउनुभएको छ । 
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कमिटीको शपथ ग्रहण तथा वडा दशैंका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले राम्रो उद्देश्य र सही गन्तव्य बोकेर हिँडेको र आफूलाई अद्यावधिक गर्दै आएको पार्टी पुरानो नहुने स्पष्ट गर्नुभयो ।  
नेकपा (एमाले)ले नयाँ दृष्टिकोणका साथ नयाँ बाटो देखाउँदै काम गरिरहेकाले एमाले मुलुकको नयाँ पार्टी भएको उहाँको भनाइ छ । 
‘नेकपा (एमाले) नीति र विधि नभएको कांग्रेस जस्तो बूढो र ३५ बर्षदेखि अध्यक्ष नफेरेको जड पार्टी नभएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– मुलुकमा राजनीतिक तथा सामाजिक परिवर्तनका लागि गरिएको त्याग र बलिदानको उपहास गरेर एकथरि तत्वहरू झिल्के (पुराना र नयाँ पार्टी) कुरा गरेर जनता अल्मल्याउँदैछन्, जनतालाई त्यो भ्रम र अलमलबाट बचाउनुपर्छ ।  
झिल्ने कुरा गर्ने, नीति विधि नभएका र जड पार्टी गरी तीनै खालका दलहरूलाई जथाभावी भोट नहाल्नका लागि जनतामा चेतना जगाउने काममा पार्टीको कमजोरी रहेको अध्यक्ष ओलीले बताउनुभयो । 
उहाँले नेकपा (एमाले) अग्रगमन र समाज रूपान्तरणको अभिभारा बोकेर हिँडेको हुँदा पार्टीले त्यस विषयमा जागरण अभियान चलाउने चलाउने बताउँदै उपत्यका विशेष प्रदेश राजधानीमा रहेको विशेष प्रकृतिको कमिटी भएकाले जन जागरण अभियानमा यसको भूमिका विशेष हुनुपर्छ भन्नुभयो ।


अध्यक्ष ओलीले विशेष प्रदेशले जनतामा चेतना जगाउने प्रचारको काममा विशेष र देशभरका लागि उदाहरणीय बन्ने गरी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । 
सञ्चार माध्यमहरूले देश बिग्रने कुरासँग मतलव नगरी भाइरल हुने र बिक्री हुने समाचारलाई महत्वका साथ स्थान दिने गरेकाले राष्ट्रको रक्षा, सुशासन, उद्यमशीलताको विकास र समृद्धि जस्ता बिषयमा चेतना छर्ने काम विशेष क्षेत्रले गर्नुपर्ने उहाँको भनाइ छ । 
नेकपा (एमाले) समतामूलक समाज निर्माणको विशेष जिम्मेवारीका साथ स्थापना भएको र सोही बमोजिम अगाडि बढिरहेको पार्टी भएको बताउँदै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आवधिक लक्ष्य हासिल गर्ने काम मिसन २०८४ अन्तर्गत रहेको र त्यो भनेको २०८४ को निर्वाचनमा पार्टीको एकल बहुमतसहितको सरकार निर्माण गर्ने भएको स्पष्ट गर्नुभयो । 
उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो–  उपत्यकाको जय पराजय र सफलता असफलताले देशभर सन्देश दिने हुँदा यहाँको कामलाई सफलतामा परिणत गर्ने जिम्मेवारी काँधमा छ । यो अभिभारा पूरा गर्नैपर्छ । उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गत युवा/विद्यार्थी, उद्यमी व्यवसायी, पेशागत र मजदूर गरी विशेषखालको जनशक्ति रहेको हुँदा सबै क्षेत्रलाई मोटिभेट(उत्प्रेरित) गर्नेगरी काम गर्नूस्, उद्यमशीलता र सिर्जनशीलताको विकासमा ध्यान दिनूस्, देशप्रति आशावादी बनाई जनतालाई निराश हुनबाट जोगाउने काम गर्नूस् युवालाई विदेश जानबाट रोक्ने काममा परिणाम देखाउने गरी लाग्नूस् । अध्यक्ष ओलीले महिलाको काम असाधारण र दिगो हुने वताउँदै पार्टी कमिटीमा महिला सहभागिता ३३ प्रतिशत रहेको र महिला सहभागितालाई अझ बढाउनुपर्छ भन्नुभयो । उहाँले प्रदेश अधिवेशनका सन्दर्भमा कर्णाली प्रदेशको नेतृत्व चयन गर्दा पदाधिकारीमा महिला नहुनु विधानविपरीत भएको बताउनुभयो । 
अध्यक्ष ओलीले उपत्यका विशेष प्रदेश अन्तर्गतका सबै कमिटीहरूलाई योजनाबद्ध ढङ्गले सञ्चालन गर्न र उत्तराधिकारीहरू तयार गर्ने काममा पनि ध्यान दिन निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले उपत्यका विशेष प्रदेश कमिटी आफ्नो प्रथम अधिवेशनमा उच्चतम लोकतान्त्रिक अभ्यास गर्दै सर्वसम्मत नेतृत्व चयन गरेर अत्यन्तै उदाहरणीय काम गरेको भन्नुहुँदै यस काममा लाग्नुभएका सबैलाई धन्यवाद दिनुभयो । उहाँले नयाँ कमिटीलाई कार्यकाल सफलताको शुभकामना दिनुभयो । 
कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न जिम्मेवारीमा रहेर अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्नेहरूलाई धन्यवादसहितको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 
सो अवसरमा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य, उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज तथा अधिवेशनको अध्यक्षमण्डलका अध्यक्ष सुजिता शाक्यले सबैको संयमता, धैर्यता र पहलकदमीबाट अधिवेशन सभ्य र भव्य रूपमा सम्पन्न भएको बताउनुभयो । 
उहाँले नयाँ निर्वाचित कमिटीलाई कार्यकाल सफलताको शुभकामना दिनुहुँदै नेतृत्व चयन गर्दा कमिटीमा नपर्नुभएका कमरेडहरूले समेत एउटा परिवारको सदस्यका रूपमा काम गर्नुपर्ने बताउनुभयो । 
पोलिटब्यूरो सदस्य शाक्यले श्रमजीवी जनता आर्थिक सङ्कट र महंगीको मारमा परिरहेको र तस्करको संरक्षकका रूपमा देखापरेको वर्तमान सरकार देश र जनताका लागि अभिशाप भएको धारणा राख्नुभयो । 
उपत्यका विशेष प्रदेश कमिटीका नवनिर्वाचित प्रेमकुमार पराजुलीले कमिटी पार्टीका नीति, कार्यक्रम र पार्टी नेतृत्वको रक्षामा दृढ सङ्कल्पित छ भन्नुभयो । उहाँले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रभाव पार्टीमा देखिएकोमा गर्व बोध गर्दै सर्वसम्मतिका लागि त्याग गर्नुहुने कमरेडहरूप्रति सम्मान प्रकट गर्नुभयो । 
पार्टीका केन्द्रीय सदस्य बीना श्रेष्ठले सञ्चालन गर्नुभएको शपथ ग्रहण कार्यक्रममा पार्टीको सल्लाहकार परिषद्का सदस्य तथा अध्यक्षमण्डलका सदस्य बाबुराम अधिकारी र निर्वाचन समितिका संयोजक पार्टीको पर्यटन विभागका सचिव घनेन्द्र श्रेष्ठ नवनिर्वाचित प्रदेश कमिटीलाई बधाई तथा शुभकामना दिनुभएको थियो । 
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य गोविन्द दुलाल, बालिका गिरी, माधव ढुङ्गेल र सीता लामाको उपस्थिति रहेको थियो ।