detail-img

सयौं मानिसको ज्यान जाने गरी गाजास्थित अस्पतालमा गरिएको आक्रमणको निन्दा र भर्त्सना 

काठमाडौं । नेकपा (एमाले)ले गएराती प्यालेस्टिनी राज्यको गाजा शहरमा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य प्रकाशित गरी उक्त आक्रमणबाट सयौं मानिसको मृत्यु भएको खबरले स्तब्ध भएको जनाउँदै आक्रमणको भर्त्सना गर्नुभएको छ । 
वक्तव्यमा भनिएको छ– अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा÷आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौं ।
रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने उल्लेख गर्दै वक्तव्यमा भनिएको छ– नेकपा (एमाले) शान्तिको पक्षमा छ । जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ । निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ । 
अध्यक्ष ओलीले ‘यस किसिमका क्रूर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्छ । निहत्था नागरिकलाई सुरक्षित गरिनुपर्छ । साथै, उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छ’ भन्ने पार्टीको मान्यता रहेको भन्नुहुँदै वक्तव्यमार्फत् यसप्रकारका सबैखाले आक्रमण रोक्न सम्बन्धित पक्षलाई आह्वान गर्नुभएको छ ।