२७ भदौ (२०८३), काठमाडौं । नेपाल खेलकुद महासंघ, सामाजिक सेवा तथा स्वयंसेवक विभागद्वारा आज राजधानीको नयाँ बानेश्वरमा वृहद रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन गरियो ।
मानवीय सेवाको भावना, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको दायित्वलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा रक्तदानसँगै निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी भएका सर्वसाधारण, स्वयंसेवक, खेलकुदकर्मी तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा १०८ जनाले रक्तदान गरेका छन् भने स्वास्थ्य शिविरमा २०० जनाभन्दा बढीले स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सेवा लिएका छन् । शिविरमा रक्तचाप, मधुमेह परीक्षणका साथै साधारण चिकित्सा र नाक, कान, घाँटीका विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराइएको थियो ।
शिविरको आरम्भ नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराई र महासंघका अध्यक्ष दीपेन्द्र दाहालले गर्नुभएको थियो ।
नेपाल खेलकुद महासंघ, सामाजिक सेवा तथा स्वयंसेवक विभाग प्रमुख अशिष राईको अध्यक्षतामा भएको कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै वक्ताहरूले रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएको बताउनुभयो । आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न स्वास्थ्य समस्याका कारण आवश्यक पर्ने बिरामीहरूका लागि समयमै रगत उपलब्ध गराउन रक्तदान कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उहाँहरूको भनाइ थियो ।
नेपाल खेलकुद महासंघले खेलकुद क्षेत्रको विकास र प्रबर्द्धनसँगै सामाजिक सेवाका क्षेत्रमा पनि आफ्नो भूमिका प्रभावकारी बनाउँदै लैजाने उद्देश्यअनुरूप यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
महासंघले रक्तदान तथा स्वास्थ्य शिविरमा सहभागी रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक, आयोजक समिति, सहयोगी संस्था तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गरेको छ । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने शिविरमा सहयोग पुर्याउने नेपाल रेडक्रस सोसाइटी र फ्रण्टलाईन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी टिमलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
