बुटवल । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषदको प्रथम पुरक बैठकले देशको समसामयिक परिस्थितिबारे गम्भीर छलफल गर्दै आगामी कार्ययोजना सम्बन्धमा विभिन्न निर्णयहरू गरेको छ ।
सल्लाहकार परिषदका केन्द्रीय अध्यक्ष अमृत कुमार बोहराको अध्यक्षतामा बुटवलमा असोज २६ गते सम्पन्न बैठकमा पार्टी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र प्रसाद पन्थी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी केन्द्रको पछिल्लो निर्णय तथा लुम्बिनी प्रदेशमा एमालेलाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा मन्तव्य राख्नुुभएको थियो ।
परिषद् सदस्य डा. आरसी आचार्यले स्वागत मन्तव्य दिनुहुँदै नेपालको कम्युनिष्ट आन्दोलनमा लुम्बिनी प्रदेशको भूमिका अत्यन्तै उच्च रहेको बताउँदै पछिल्लो समयमा देखापरेको मुलुकको जटिल परिस्थिति र यसलाई कसरी अग्रगामी सोचका साथ अगाडि बढाउने भन्ने विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
बैठकमा केन्द्रीय सल्लाहकार परिषदका सदस्यहरुले आ–आफ्ना धारणा राख्नुभएको थियो । उहाँहरूले पार्टीलाई युवाहरूको बीचमा प्रभावकारी रूपमा पुर्याउनुपर्ने, मुलुकमा रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने, मुलुकमा आर्थिक मन्दीको चरम स्थिति देखापरेको सन्दर्भमा यसलाई कसरी समाधान गर्न सकिन्छ ? यसबारेमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने, शिक्षा र स्वास्थ्य नीति अव्यवहारिक हुँदा रोजगारीका लागि मात्रै विदेश जाने नभएर सदाका लागि विदेश पलायन हुने स्थिति सिर्जना भएको, माध्यमिक तहको शिक्षा पूरा गरेपछि उच्च शिक्षाका लागि युवाहरू विदेश जाने र उच्च शिक्षा हासिल गरेसँगै विदेशमै रमाउने स्थिति बढेकाले मुलुक दिनप्रतिदिन सङ्कटमा फस्दै गएको बताउनुभयो ।
बैठकले पार्टी सञ्चालनको परम्परागत शैलीमा समयसापेक्ष परिवर्तन गर्नुपर्ने, जनहितका कामलाई प्राथमिकतामा राख्नुपर्ने, राजनीति भनेको उच्चस्तरको समाजसेवा हो भन्ने भावनाबाट उत्प्रेरित भई कार्य गर्नुपर्नेजस्ता निष्कर्ष प्रस्तुत गरेको छ ।
बैठकमा केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकदेखि विभिन्न बैठकमा प्राप्त सुझाव बमोजिम पार्टीलाई जनस्तरमा अझ सुदृढ बनाउन, विकृति विसंगतिलाई हटाउन वैचारिक प्रशिक्षणलाई प्राथमिकताका साथ लैजानुपर्ने लगायत विषय उठाइएको थियो ।
बैठकमा लुम्बिनी प्रदेशभित्रका ५० जना केन्द्रीय सल्लाहकार परिषद्का सदयहरूको सहभागिता रहेको थियो ।