detail-img

राजनीतिक अस्थिरता अन्त्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण 

एकीकृत समाजवादीका नेता गैरेलाई एमालेमा स्वागत

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताबाट मुक्त गर्न एमालेलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्नु आवश्यक रहेको वताउनुभएको छ । 
राष्ट्रिय पर्वहरूको अवसरमा दाङको लमहीमा बु्धबार (२०८० कात्तिक ९ गते) आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीलाई बलियो राजनीतिक शक्ति बनाउने दिशामा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।


उहाँले पार्टीलार्ई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्दै एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउने अठोटका साथ  मिसन–२०८४ अगाडि सारिएको स्पष्ट गर्नुभयो । 
महासचिव पोखरेलले कुनै पनि पार्टीको बैसाखीविना, एक्लै बहुमतको सरकार बनाउन मिसन २०८४ लाई केन्द्रमा राखेर अघि बढ्न निर्देशन समेत दिनुभयो । उहाँले भन्नुभयो– कुनै पनि पार्टीको बैशाखी विना, सहारा विना, एक्लै नेकपा (एमाले) बहुमतको सरकार बनाउन हामी मिसन २०८४ लाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने छ । अब एमालेको बहुमतको सरकार, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अकांक्षा पूरा गर्ने हाम्रो योजनातर्फ हामी नेताकार्यकर्ता संलग्न हुनुपर्छ ।
माओवादी, नेकपा एस लगायतको समाजवादी मोर्चा कांग्रेससँग सत्ताको बार्गेनिङ गर्न र कार्यकर्ता अल्मल्याउनका लागि गठन भएको उहाँको भनाइ छ । 
यसैबीच नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नं. १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा (एमाले) मा फर्किनुभएको छ । महासचिव पोखरेलले गैरेलाई पार्टीमा स्वागत गर्नुभयो ।