detail-img

अझै २० बर्ष राजनीति गर्छुः अध्यक्ष ओली

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय रहने बताउनुभएको छ । 
नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहणका लागि आयोजित विशेष कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो ।  अध्यक्ष ओलीले भन्नुभयो– म कतिबर्ष पार्टीको नेतृत्वमा रहन्छु थाहा छैन तर अब २० बर्ष राजनीति गर्छु । 
अध्यक्ष ओलीले एमालेलाई बदनाम गर्ने प्रयास स्वरुप अहिले आफूविरूद्ध दुष्प्रचार भइरहेको वताउनुभयो । 
केपी ओलीले कम्बोडियामा तीनहजार करोड लगानी गरेको भनी अफवाह फैलाउने काम भइरहेको भन्दै अध्यक्ष ओलीले उक्त रकम पत्ता लगाउनेलाई त्यसमा एकहजार थपेर उसैको नाममा राखी दिने चुनौती दिँदै हल्लाका पछाडि नलाग्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।


उहाँले भन्नुभयो– देशको ढुकुटीको त्यत्रो पैसा विदेशमा लगेर राखेको पत्ता लगाउनेलाई म त्यो बक्सिस दिन्छु ।
आफ्नो नेतृत्वको सरकारका पालामा नेपालको नक्शा अद्यावधिक (चुच्चे नक्शा प्रकाशित) गरेपछि भारतीय सञ्चारमाध्यमहरूले त्यतिबेला तथानाम लेखेको र त्यहि बेला भारतीय सञ्चारमाध्यम जीन्युजले कम्वोडिमामा केपी ओलीले तीनहजार करोड राखेको भन्दै अफवाह फैलाउने समाचार प्रशारण गरेको र दुनियाँले गाली गरेपछि उनीहरुले धेरै बेठिक कुरा प्रशारण भयो भनेर क्षमा मागेको स्मरण गराउँदै अध्यक्ष ओलीले भन्नुभयो– तीनबर्ष अघि नेपालमै आएर मेरो अन्तर्वार्ता लिएपछि उनीहरूले गल्ती भयो भनेर सच्याइसकेको विषयलाई अहिले हल्ला फैलाउने काम भैरहेको छ ।
अध्यक्ष ओलीले दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुहारेको भनेर प्रचार गरिएको र त्यो एमालेलाई बदनाम गर्नका लागि भएको बताउनुभयो । 
उहाँले २०४८ सालको निर्वाचनका बेला कम्युनिष्टले निर्वाचन जितेर सरकार चलाए ६० वर्ष माथिका मान्छेलाई गोली हानेर मार्छन् भनेर हल्ला चलाएको तर एमालेले सरकार बनाउँदा ज्येष्ठ नागरिकलाई बृद्धभत्ता प्रदान गर्न शुरु गरेर अहिले त्यो चार हजार पुर्याएको चर्चा गर्दै अहिलेको अफवाह पनि त्यसकै निरन्तरता भएको बताउनुभयो । 
देशमा राजनीतिक रूपमै डकैती भइरहेको, भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उहाँको भनाइ छ । उहाँले आर्थिक रुपमा देश टाट पल्टिने अवस्थामा पुगेको बताउनुभयो ।
अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले कम्युनिस्ट पार्टी फुटाएर दक्षिणपन्थीको करेसामा बास माग्न पुगेको बताउनुभयो । 
अहङ्कार त्यागेर एकताबद्ध भई अगाडि बढ्न निर्देशन 
अध्यक्ष ओलीले निर्वाचनमा जितेको अहङ्कार त्यागेर पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न नवनिर्वाचित गण्डकी प्रदेश कमिटीलाई निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धाका लागि दिएको सुझाव विपरीत गण्डकी प्रदेशमा प्यानल बनाएरै निर्वाचन भएकोप्रति असन्तुष्टी व्यक्त गर्नुभयो ।
उहाँले प्रतिस्पर्धा विचारमा हुने भन्दै एमालेभित्र विचारमा एकता भएका बेला पदका लागि प्रतिस्पर्धा हुँदा गलत प्रवृत्ति भित्रिन सक्ने हुँदा सचेत रहनसमेत आग्रह गर्नुभयोे । 
अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण ध्यान मिसन–८४ मा केन्द्रित गर्नुपर्ने भन्दै आन्तरिक विवादमा रुमलिन नहुनेमा जोड दिनुभयो । नेताहरूमा घमण्ड पस्यो भने अरु केही पस्न नपाउने र मानिसको पतन त्यहीँबाट सुरू हुने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले पार्टीले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल बनाउने गरी काम गर्न प्रदेश नेतृत्वलाई सुझाव दिनुभयो । उहाँले एमालेलाई सिध्याउन देशी विदेशी शक्ति लागेको बताउँदै नेताकार्यकर्ता, समर्थक, शुभेच्छुक र आम जनताको आडमा पार्टीलाई जोगाउन सफल भएको बताउनुभयो । 
कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू खगराज अधिकारी र थममाया थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
एकीकृत समाजवादीका सल्लाहकारसहित करिव सयजना एमालेमा 
यसैबीच, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङसहित झण्डै एकसयजना नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
अध्यक्ष ओलीले गुरूङसहित नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । 
पार्टी प्रवेश गर्नेहरूमा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत अन्य पार्टीका समेत गरी ८४ जना रहेका छन् ।