detail-img

भूकम्प पीडितहरूको उद्धार, राहत र घाइतेको उपचारको काममा परिचालित हुन आह्वान 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरूको उद्धार र घाइतेहरूको उपचारमा परिचालित हुन पार्टीपङ्तीलाई आह्वान गर्नुभएको छ । 
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत देशभरिका साथीहरूले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन आग्रह गर्दै विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरूले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न निर्देशन गर्नुभएको छ । 
उहाँले भूकम्पमा ज्यान गुमाउनुभएका सबै दिदीबहिनी दाजुभाइप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले विपत् र शोकको यस समयमा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा उत्सव सम्बन्धी सबै कार्यक्रमहरू स्थगित गर्न देशभरका सबै पार्टी निकायहरूलाई आग्रह गर्नुभएको छ । 
महासचिव शंकर पोखरेलले घाइतेहरूको जीवन रक्षाका लागि यथाशीघ्र उद्धार र उपचारमा जुट्न सरकारलाई ध्यानाकर्षण गर्दै पराकम्पका जोखिमप्रति सजग हुँदै उद्धार र राहतको काममा जुट्न पार्टीपङ्तीका साथै सबैलाई अनुरोध गर्नुभएको छ ।  
यसैगरी पार्टीको तर्फबाट प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आज एक अपिल प्रकाशित गरी भूकम्पले पुर्याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । 
नेकपा (एमाले)ले भूकम्प पीडितहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा बसोवासको व्यवस्था गर्न, पीडितहरूलाई राहत उपलब्ध गराउन तथा घाइतेहरूको शीघ्रातिशीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ । 
यस प्राकृतिक विपद्मा परी निधन हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 
गएराती ११ः४७ बजे जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट, रुकुम (पश्चिम) लगायतका जिल्लामा  पछिल्लो विवरण अनुसार १५० भन्दा बढी मानिसको दुःखद निधन भइसकेको  छ भने सयौं घाइते भएका छन् । ठूलो सङ्ख्यामा घरहरू भत्कनुका साथै भौतिक पूर्वाधारहरूमा क्षति पुगेको छ । 
पार्टीले भूकम्प प्रभावित जिल्लाका नेताकार्यकर्ताहरूलाई भूकम्प पीडितको उद्धार कार्यमा सहयोग पुर्याउने काममा जुट्न हार्दिक आह्वान गरेको छ ।