detail-img

पार्टी थप सुदृढ र एकताबद्ध भएर अगाडि बढ्ने छः विश्वकर्मा 

अछाम । नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले देश र जनताको हितमा वकालत गर्ने पार्टी नेकपा (एमाले) मात्रै भएको बताउनुभएको छ । अछाम जिल्लाको तुर्माखाँदमा सम्पन्न जिल्ला कमिटीको १२औं बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।


नेकपा (एमाले) को लोकप्रियता देखेर राष्ट्र र जनता विरोधीले चौतर्फी घेराबन्दी गरे पनि यस्ता जालझेलका विरूद्व नेकपा (एमाले) थप सुदृढ र एकताबद्ध भएर अघि बढ्ने उहाँले बताउनुभयो । 
सचिव विश्वकर्माले कुनै एक नेता र नेतृत्वबाट मात्रै पार्टी बलियो नहुने भएकाले एमालेमा आस्था र विचार राख्ने सबै कार्यकर्ताहरू संगठन निर्माणका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन समेत दिनुभयो । 
संविधान निर्माणमा  निकै महत्वपूर्ण भूमिका खेलेको पार्टी एमाले भएकाले यसको सही कार्यान्वयनमा पनि उत्तिकै भूमिका खेलिरहेको भनाइ उहाँको छ । देश र जनताको ठुलो बलिदानबाट प्राप्त अहिलेको व्यवस्थाका विरूद्ध विभिन्न गतिविधि हुन थालेको भन्दै यस्ता अनैतिक गतिविधिका विरूद्ध प्रमुख पार्टीहरू एकठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।  
बैठकलाई नेकपा (एमाले) केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य तथा अछाम–२ का इन्चार्ज यज्ञबहादुर बोगटी, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीलगायतले मन्तव्य राख्नुभएको थियो । 
बैठकमा नेकपा (एमाले)ले पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा गर्ने पदयात्रा, जिल्लाको समसामयिक विषयमा छलफल भएको छ ।


एकीकृत समाजवादीका कार्यकर्ता एमालेमा
सोही क्रममा एकीकृत समाजवादीका जिल्ला उपसचिव डबलसिंह चलाउने सहितको टोली नेकपा (एमाले) मा समाहित भएको छ । 
सुदूरपश्चिम प्रदेशका इन्चार्ज विश्वकर्माले चलाउने सहितको टोलीलाई पार्टीमा स्वागत गर्नुभयो । व्यक्तिगत स्वार्थको झुण्ड समाजवादी भएको भन्दै चलाउनेले एमालेले मात्रै देश र जनताको रक्षा र विकासमा काम गर्न सक्ने भन्दै मुल घरमा फर्किएको बताउनुभयो ।