पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलले बजेटमाथि छलफल सुरू नगर्ने हो भने मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेको छ ।
गण्डकी प्रदेश एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीको राजीनामा माग गरेको हो ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले यस्तो माग गर्नुभएको हो ।
उहाँले पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सभामा तत्काल बजेट सत्र सुचारु गर्न माग गर्नुभयो ।
गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरेको आग्रहलाई अस्वीकार गरेकाले पत्रकार सम्मेलन गरी यस्तो माग गरेको बताउनुभयो ।
असार १ मा अर्थमन्त्री रामजी बरालले बजेट प्रस्तुत गरेपछि छलफल स्थगित छ । त्यसो त ५ असारमा छलफल सुरु गर्ने भनिए पनि सत्ता गठबन्धनभित्रैको विवादका कारण छलफल रोकिएको हो ।
‘सभामा बजेट प्रस्तुत गरेर सत्ता पक्षले नै अनिश्चितकालका लागि सदन स्थगित गर्ने काम गैरसंसदीय हो,’ एमाले उपमहासचिव समेत रहनुभएको गुरुङले भन्नुभयो, ‘लोकतान्त्रिक परिपाटी अनुसार सरकारलाई चल्न आग्रह गर्दछु ।’
उहाँले बजेटमाथि छलफल गराउन पनि नसक्ने र मुख्यमन्त्रीलाई पनि मन्त्रीले नमान्ने कुरा लोकतान्त्रिक नहुने बताउनुभयो ।
‘मुख्यमन्त्रीले भनेको नमान्ने मन्त्रीलाई तत्काल हटाउन र त्यो पनि नसक्ने हो भने आफैँ राजीनामा दिन म मुख्यमन्त्रीलाई सुझाव दिन्छु,’ उहाँले भन्नुभयो ।