काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले एमालेलाई राष्ट्रिय सुदृढ शक्तिको रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार (२०८० पुस १२ गते) राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा गौतमले पार्टीले अघि बढाएको मिसन–२०८४ को मूल एजेण्डा पूरा गर्ने गरी लाग्नुपर्ने बताउनुभयो ।
नेकपा (एमाले)को नेतृत्वमा एकल बहुमत प्राप्त सरकार निर्माण गरेर मात्रै मुलुकको स्थायित्व, शान्ति, अग्रगमन सम्भव छ भन्ने कुरा तथ्यले प्रमाणित गरेको उहाँले बताउनुभयो ।
पार्टीले भर्खरै मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा गर्दा जनतामा विकास र समृद्धिको अपेक्षा पाइएको तर कहीँ पनि विकास र समृद्धिले गति नपाएको गौतमले बताउनुभयो ।
अहिले नेकपा एमाले सत्तामा नहुँदा पनि जनताको अपेक्षा नेकपा (एमाले)सँगै रहेको उहाँले भनाइ छ ।
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतले अहिले देशमा विभिन्न नाममा अस्थिरता र अराजकता मच्चाउने काम भएको बताउनुभयो । उहाँले देश जोगाउन र जनताका सुख दुःखमा राष्ट्रिय युवा संघ नेपाल जोडिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपाललाई हिमाल, पहाड, तराई र गाउँदेखि सहरसम्मका १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको साझा संगठन तथा समुदायको हितको नेतृत्वकर्ता संगठनको रूपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका बस्नेतले मुलुकको समृद्धिको लागि नेकपा (एमाले) को बहुमतको सरकार आवश्यक रहेकोले आगामी निर्वाचनमा एमालेको बहुमतसहितको सरकार बनाउने कार्यनीतिका साथ काम गर्न युवा संघलाई निर्देशन दिनुभयो ।