चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विकास र सुशासनको प्रष्ट दृष्टिकोण भएको पार्टी एमाले मात्र भएकाले देशलाई अगाडि बढाउने काम एमाले बाहेक अरूले गर्न नसक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) चितवनले शुक्रबार कालिका नगरपालिकास्थित खोलेसिमलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिद्ध्याउँछौँ भन्नेहरूको सपना विफल भएको र एमालेको पक्षमा सिङ्गो देश नै उठेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘देश उठेको छ, जागेको छ, फेरि जाग्छ, एमाले सिद्ध्याउँछौँ भनेर लाग्दा त कसैले सिद्ध्याउन सकेन भने अब त एमाले मात्रै हो यो देश बनाउने, देशलाई अगाडि बढाउने यो कुरा स्थापित भएको छ । दुनियाँमा सबै शक्तिसँग आँखा जुधाएर कुरा गर्न सक्ने, देशको पक्षमा बोल्न सक्ने एमाले बाहेक कोही नभएको हुँदा यो कुरा नेता कार्यकर्ताले जनतामा पुर्याउनुपर्ने उहाँको भनाइ छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा नै एमालेको सङ्कल्प भएको हुँदा त्यसमा कसरी पुग्ने भनेर जनतालाई बुझाउन पनि आवश्यक रहेको अध्यक्ष ओलीले बताउनुभयो । एमाले सरकारमा छँदा असाधारण काम गरेको र त्यसबेला जनतामा बेग्लै खालको ऊर्जा सञ्चार भएको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले भन्नुभयो– राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, जनतामा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम एमालेले मात्रै गर्न सक्छ । एमालेले हालै सम्पन्न गरेको समृद्धिका लागि सङ्कल्प यात्रा ऐतिहासिक र असाधारण रहेको बताउँदै उहाँले यस्ता कार्यक्रम एमाले बाहेक अन्य कुनै पार्टीले गर्न नसक्ने प्रष्ट पार्नुभयो ।
यसैगरी, चितवनको भीमोदय नमुना माध्यमिक विद्यालय पदमपुरको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बालबालिकालाई विशिष्ट व्यक्तित्वको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीलाई कोर्सको साँघुरो अध्ययनमा मात्र सीमित नराखेर त्योभन्दा बाहिरका विषय पनि सिकाउन आवश्यक रहेको बताउनुभयो । कोर्स भन्दा बाहिर सिक्ने र अपनाउने धेरै कुरा भएकाले त्यसमा बालबालिकालाई दक्ष बनाउन उहाँले शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
योग्य नागरिक, सक्षम नागरिक, दक्ष नागरिक आफ्नो जीवन सहज ढङ्गले व्यतीत गर्न सक्ने, मानवीय भावना सहितको परिवार र समाजका लागि उपयुक्त व्यक्तित्व विद्यालयले निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– यहाँका विद्यार्थी विश्व प्रतिस्पर्धा गर्न सकून् । नेपालका विद्यार्थीले विश्वमा राम्रो गर्न नसक्ने कुनै कारण नरहेको र विद्यार्थीको मनोबल उठ्ने शिक्षा नेपालका शिक्षण संस्थाले दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।