काठमाडौं । नेकपा (एमाले) गुल्मीले पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गत मङ्सिर ११ गतेबाट शुरू गरिएको प्रशिक्षण कार्यक्रम अभियानका रूपमा सञ्चालन गरी एक महिनाभित्रै सबै (१२ वटै) पालिकामा सम्पन्न गरिएको हो ।
पार्टीका स्थानीय नेताकार्यकर्तालाई वैचारिकरूमा प्रशिक्षित गरी नीति, विचार र दृष्टिकोणमा स्पष्टताका साथ सक्रिय बनाउन, पार्टीको कार्यदिशा र गन्तव्यका बारेमा पुनर्ताजगी गराउन प्रशिक्षण कार्यक्रम प्राथमिकताका साथ आयोजना गरिएको हो ।
नेकपा (एमले) गुल्मी जिल्ला स्कुल विभागको आयोजना र सम्बन्धित पालिका कमिटीको व्यवस्थापनमा गत मङ्सिर ११ र १२ गते रेसुङ्गा नगरपालिकाको तम्घासबाट शुरू गरिएको पालिकास्तरीय प्रशिक्षण कार्यक्रम पुस १ र २ गते चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा पालिकास्तरका कार्यकर्तालाई प्रशिक्षण दिई सम्पन्न गरिएको छ ।
नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले पालिकास्तरीय प्रशिक्षण सम्पन्न भएको बताउँदै अब ती पालिकाका ९३ वटै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराउनुभयो । उहाँले पालिकास्तरीय प्रशिक्षणबाट कार्यकर्तामा वैचारिकरूपमा एकरूपता कायम गर्न मद्दत पुगेको बताउनुभयो ।
इन्चार्ज थापाले आफ्नो उपस्थितिमा नेकपा (एमाले) गुल्मी जिल्लाका अध्यक्ष तथा जिल्लाको स्कुल विभाग प्रमुख बालसिंह काउछाको अध्यक्षतामा हालै बसेको विभाग बैठकले पालिकास्तरीय प्रशिक्षणको समीक्षा गर्नुका साथै वडातहमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको बताउँदै यसै महिनाको अन्त्यसम्म जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिने छ, त्यसपछि वडातहमा प्रशिक्षण चलाइने छ भन्नुभयो ।
गुल्मीमा कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटमा मङ्सिर २९ र ३० गते, मुसीकोट गाउँपालिकाको वामी टक्सारमा मङ्सिर २७ र २८ गते, इस्मा गाउँपालिकाको दर्लामचौरमा मङ्सिर २५ र २६ गते, मालिका गाउँपालिकाको सिमलटारीमा मङ्सिर २५ र २६ गते, मदाने गाउँपालिकाको पुर्कोट दहमा मङ्सिर २३ र २४ गते, धुर्कोट गाउँपालिकाको बर्बोटमा मङ्सिर २३ र २४ गते, गुल्मी दरबार गाउँपालिकाको बीरबासमा मङ्सिर १७ र १८ गते, रूरू क्षेत्र गाउँपालिकाको बलेटक्सारमा मङ्सिर १५ र १६ गते, सत्यवती गाउँपालिकाको जुहाङ, खैरेनीमा मङ्सिर १५ र १६ गते तथा छत्रकोट गाउँपालिकाको भेंडुवा, हर्दिनेटामा मङ्सिर १३ र १४ गते प्रशिक्षण सम्पन्न भएका छन् ।
सबै प्रशिक्षण कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले प्रमुख प्रशिक्षका रूपमा प्रशिक्षण दिनुभएको थियो । उहाँले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको कार्यभार र कार्यदिशाका साथै नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहासका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी पार्टीका केन्द्रीय सदस्य दिनेश पन्थीले पार्र्टी संगठन र व्यवस्थापन, केन्द्रीय सदस्य गणेश खनाल र गणेश श्रेष्ठले दर्शन र दर्शनशास्त्र, जिल्ला अध्यक्ष बालसिंह काउछाले प्रशिक्षण कार्यको महत्वका बारेमा प्रशिक्षण दिनुभएको थियो भने सोमनाथ सापकोटाले राजनीतिक दलहरूको तुलनात्मक अध्ययन, फर्शु पाण्डेले उद्यम र उद्यमशीलता, केन्द्रीय सदस्य जङ्गबहादुर नेपाली, राजेन्द्र अर्याल र धर्म विश्वकर्माले स्थानीय तहका जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध, चक्रबन्धु भुसाल र जीवन खरेलले पार्टी निर्माण, नेतृत्व शैली र अनुशासन, गोविन्द गौतमले राजनीतिक अर्थशास्त्र, राधिका अर्याल, कमला शर्मा, ललिता गौतमले महिला सशक्तीकरण, समावेशी र पार्टी नीतिको योगदान र गणेश श्रीपालीले राजनीतिक सञ्चार विषयमा प्रशिक्षण दिनुभएको थियो भने सबै पालिकामा स्थानीय कमरेडहरूद्वारा त्यहाँको पार्टी संगठनको अवस्था र राजनीतिक शक्ति सन्तुलनका बारेमा विषय प्रस्तुत गर्नुभएको थियो ।