detail-img

गुल्मीमा फागुन मसान्तसम्म सबै (९३ वटै) वडामा प्रशिक्षण सम्पन्न गर्ने निर्णय 

तम्घास । नेकपा (एमाले) गुल्मीले आगामी माघ र फागुन महिनामा जिल्लाका सबै वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । 
नेकपा (एमाले) गुल्मी जिल्ला कमिटीको शुक्रबार (पुस २७ गते) बसेको बैठकले २०८० साललाई प्रशिक्षण बर्षका रूपमा सदुपयोग गर्ने र जिल्लाका ९३ वटै वडामा प्रशिक्षण चलाउने निर्णय गरेको छ । गुल्मीमा हालसम्म जिल्ला, पालिका तह र सम्पर्क मञ्चसमेत गरी १५ वटा प्रशिक्षणका  श्रृङ्खला सम्पन्न भएका छन् । 
यसैबीच यही पुस २५ गतेदेखि शुरू गरिएको तीन दिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ ।
पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता र उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको विशेष आतिथ्यतामा यही  पुस २५ गते उद्घाटन गरिएको प्रशिक्षण कार्यक्रम शुक्रबार पोलिटव्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले समापन गर्नुभयो । 
प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले जनताको बहुदलीय जनवाद र दशौं राष्ट्रिय महाधिवेशनको कार्यदिशा÷कार्यभार विषयमा प्रशिक्षण दिनुभएको थियो भने उपमहासचिव ज्ञवालीले  मार्क्सवादी  विश्व दृष्टिकोण र समाज रूपान्तरण विषयमा प्रशिक्षित गर्नुभएको थियो ।  
त्यसैगरी पोलिटव्यूरो सदस्य थापाले पार्टीको आजको प्रचार कार्य (सूचना प्रविधि र राजनीतिक सञ्चारको महत्व) विषयमा प्रशिक्षण दिनुभएको थियो । 
प्रशिक्षणमा २०० जनाको सहभागिता रहेको थियो । सहभागीहरूलाई कम्युनिष्ट शैली, पद्धति र अनुशासनको महत्व, पार्टी संगठन निर्माण, सञ्चालन र व्यवस्थापन, गुल्मी जिल्लाको विकासमा पार्टीको नेतृत्वदायी प्रयास र भूमिका, राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्था, गल्मी जिल्लाको कम्युनिष्ट आन्दोलन (विगत, वर्तमान र भविष्य), राजनीतिक शब्द परिचय, उद्यम  र उद्यमशीलता, आर्थिक अनुशासन लगायत विषयमा प्रशिक्षण दिइएको थियो । 
केन्द्रीय सदस्यहरू दिनेश पन्थी, रचना खड्का, गणेश खनाल, केन्द्रीय सल्लाकार परिषद् सदस्य कमलराज श्रेष्ठ, जिल्ला अध्यक्ष बालसिंह काउछा लगायत नेताहरू तथा बद्री खनाल लगायत विषय विज्ञले प्रशिक्षण दिनुभएको थियो । 
यसैगरी अध्यक्ष बालसिंह काउछाको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकले स्थानीय तहमा निर्वाचन भएको करिब दुई वर्ष पुग्न लागेको सन्दर्भमा यस अवधिको समीक्षा गरी पार्टीले विजय हासिल गरेका पालिकाहरूमा भएका राम्रा अभ्यासलाई निरन्तरता दिन र वर्तमानमा जनताले भोगिरहेका समस्या समाधान गर्ने गरी सुझाव दिने र अन्य दलले जितेका स्थानीय तहमा भएका अनियमितता, भ्रष्टाचार, पक्षपातलाई उजागर गर्ने गरी आगामी माघ १० गते एकसाथ सुझाव तथा विरोधपत्र प्रस्तुत गर्ने निर्णय गरेको छ । 
यस्तै,  यस वर्ष पार्टी सदस्यता नवीकरण चैत महिनाभित्र सक्ने गरी तयारी गर्ने निर्णय भएको र यसका लागि फागुनबाट नै सदस्यता नवीकरणको काम शुरू गर्ने निर्णय भएको छ । बैठकले केही समसामयिक प्रस्तावहरू पारित गरेको नेकपा (एमाले) गुल्मीका सचिव गणेश श्रीपालीले बताउनुभयो ।
पारित समसामयिक प्रस्तावहरू यस प्रकार छन्ः

=  नेकपा  (एमाले) जिल्ला कमिटी गुल्मीको यो बैठकले भारतीय विदेशमन्त्री जयशंकरको हालै भएको नेपाल भ्रमणका क्रममा गरिएको २० करोडसम्म भारतीय दुताबासले सिधै स्थानीय तहलाई प्रदान गर्न पाउने संझौता गर्ने वर्तमान आत्मसमर्पणबादी सरकारको कदमको घोर विरोध गर्दछ । 
=  वर्तमान सरकारले संरक्षणमा भएका भ्रष्टचार र अनियमितताले सीमा नाघेको छ । यसै कारण देशमा चरम असन्तुष्टि फैलिएको छ । एनसेलको राजश्व छली गर्ने गरी मिलेमतोमा भएको अस्वाभाविक मूल्यमा भएको किनबेच, सुनतस्करी, राजश्वछली, विकास निर्माणमा भएको भ्रष्टचार र पक्षपातले यो सरकारको बदनियत र असक्षमतालाई प्रष्ट पारेको छ । त्यसैले अबिलम्ब गठबन्धनका आधारमा सरकार बनाइ लुटको धन्धा संचालन अबिलम्ब बन्द गर्न जोडदार माग गर्दछ । 
=    पश्चिम नेपालमा भूकम्पपीडितहरुको पुनर्बासमा सरकारको तर्फबाट भएको उदासिनताले पीडित जनताले धेरै सास्ती बेहोर्न परेको छ । थुप्रै नागरिकले चिसोको कारणले ज्यान गुमाउन परेको छ । त्यसैले भूकम्पपीडित प्रभावित नागरिकको लागि सुरक्षित आबास र राहतको प्रबन्ध गर्नका लागि जोडदार माग गर्दछ । 
=   देशभर जनताको पसिनाको कमाइ राखेको सहकारीको बचत हिनामिना भएको र यसमा देशका सुशासनको चर्को वकालत गर्ने र नयाँ भनिने पार्टीका जिम्मेवारहरु संलग्न भएको खबर आइरहेका छन । यस अवस्थामा जनताको सम्पति संरक्षणको ग्यारेण्टी गर्नका सरकारसँग जोडदार माग गर्दछ । 
=   देशमा चरम आर्थिक मन्दीले देशको उद्योग व्यवसाय चरम संकटको अवस्था रहेको छ । यस अवस्थामा उद्योग व्यवसायमा संलग्न रहेका नागरिकहरुलाई ब्याज सहुलियतलगायतका राहतका प्याकेज ल्याउनका लागि यो बैठक जोडदार माग गर्दछ । 
=    बर्तमान सरकारका नालायकीका कारण जनताको निरासा बढ्दो छ । देशमा सम्भावना नदेखेर विदेश जाने क्रम बढ्दो छ । त्यसैले देशमै रोजगारीका लागि विशेष कार्यक्रम सञ्चालन गर्न तथा वैदेशिक रोजगारीमा हुने गरेको ठगीलाई अबिलम्ब रोक्नका लागि यो बैठक जोडदार माग गर्दछ । 
=   कोरियाको रोजगारीको लागि हुने भाषा परीक्षाको विषयमा भएको आन्दोलनमा र सर्लाहीमा भएको आन्दोलनमा सरकारको तर्फबाट शक्ति प्रयोग गरी होनाहार युवाहरूको हत्या गर्ने काम भएको छ । यस कदमको घोर विरोध गर्दै सरकारका गृहमन्त्रीसहितका दोषीलाई कडा कार्वाही गर्न जोडदार माग गर्दछ ।
=   गुल्मी जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयमा कामकार्वाहीका सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । विकास निर्माणका काममा गरिएको ढिलासुस्ती र कमजोर गुणस्तर सच्चाउन जोडदार माग गर्दछ । सरकारी निकायमा बढ्दो इन्धन, गाडी, चन्दा सहयोग तथा भ्रमण गोष्ठीका फजुल खर्च नियन्त्रण गर्न तथा सरकारी निकायमा बढ्दो खरिदमा आधारित कमिशन खाने खेललाई सच्चाउन चेतावनी दिन्छाँै । सरकारी निकायका बेथितिलाई हाम्रो पार्टीले निगरानी गरी यस्ता क्रियाकलापलाई नाङ्गेझार पार्न पार्टी पङ्क्ति परिचालन हुने जानकारी गराउँछौँ । 
=    पर्यटकीय सम्भावना भएको गुल्मी जिल्लामा पर्यटकीय पूर्वाधार निर्माणलाई र पर्यटकका लागि सुविधाहरू व्यवस्थित गर्नका लागि जोडदार माग गर्दछौँ । यसक्रममा पर्यटकीय स्थलहरूको प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न, सिमीचौरको विमानस्थलमा नियमित तथा थप उडानको व्यवस्था गर्न, गुल्मीमा निर्माणाधीन सडकहरू अबिलम्ब पूरा गर्न तथा जिल्लामा सञ्चालित पर्यटकीय सेवा प्रदान गर्ने होटल व्यवसायलाई प्रोत्साहित गर्न तथा विभिन्न कारणले हतोत्साहित नगर्नका लागि जोडदार माग गर्दछौँ ।