detail-img

विकाससँग संगठनको कामलाई जोड्नुपर्छः महासचिव पोखरेल 

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र संगठन निर्माणको कामलाई एकैसाथ जोडेर लैजानुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) दाङले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको शनिबार समापन गर्दै महासचिव पोखरेलले पार्टीले गरेका विकासका कामको उचित प्रचार गर्न पनि सक्नुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो– विकासले मात्रै चुनाव जितिँदैन, विकाससँग संगठनलाई जोड्यो भने मात्र चुनाव जितिन्छ, विकास र संगठन सँगसँगै लिएर गयो भने मात्र चुनाव सहजै जितिन्छ । उत्पादनसँग जोडिएका मानिसहरूसँग राजनीतिक रूपमा जोडिनुपर्ने बताउँदै त्यसो भयो भने मात्र संगठन मजबुत हुने महासचिव पोखरेलले प्रष्ट पार्नुभयो ।


एमाले सरकारमा हुँदा जनताको जीवनमा परिवर्तन ल्याउने अनेक काम गरेको उहाँले बताउनुभयो । तर एमाले सरकारको पालामा भएका कामको पार्टीको तर्फबाट अझै उचित प्रचार हुन नसकेको हुँदा पार्टीका नेता कार्यकर्तालाई उक्त काममा लाग्न महासचिव पोखरेलले निर्देशन दिनुभयो । कम्तीमा एमालेको शासनकालमा भएका कामको स्वामित्व पार्टीले लिनुपर्नेमा उहाँले जोड दिनुभयो । 
महासचिव पोखरेलले नेकपा (एमाले) सरकारबाट हटेपछि विकासका धेरै काम रोकिएको र ठेक्का प्रक्रियामा गएका विकास योजना समेत गठबन्धन सरकारले रोकेको बताउनुभयो । 
आधारभूत तहका नागरिक जहाँ छन्, विकासको केन्द्र पनि त्यही बनाउनुपर्नेमा जोड दिँदै त्यहीँबाट त्यसले समाज निर्माणको लागि भूमिका खेल्ने उहाँले प्रष्ट पार्नुभयो । कार्यक्रममा महासचिव पोखरेलले तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तीन दिने प्रशिक्षणमा महासचिव पोखरेल, उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, रचना खड्का, लक्ष्मण ज्ञवाली, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइराला लगायत नेताहरू र विषय विज्ञहरूले प्रशिक्षण दिनुभएको थियो ।