detail-img

नेकपा विभाजित हुँदा समृद्धिको यात्रा अवरुद्धः उपमहासचिव गुरुङ

तनहुँ । नेकपा एकीकृत समाजवादी तनहुँ जिल्ला सचिवालय सदस्य एवं शुक्लागण्डकी नगर कमिटी सचिव डिलबहादुर थापासहित ८७ जनाको टोली नेकपा (एमाले)मा समाहित भएको छ । 
नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटी तनहुँले आइतबार बेलचौतारामा आयोजना गरेको कार्यक्रममा जिल्ला कमिटी सदस्यहरू शिवजी महत, मनकुमार श्रेष्ठ, बेलबहादुर अधिकारी लगायत एमालेमा समाहित हुनुभएको हो । समाहित हुनेहरूलाई नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो ।


उक्त कार्यक्रममा उपमहासचिव गुरुङले बलियो कम्युनिष्ट पार्टी र कम्युनिष्ट एकता आजको आवश्यकता भएको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टी विभाजित हुँदा देश र जनतालाई हानि हुने गरेको बताउनुभयो । 
उपमहासचिव गुरुङले नेकपा विभाजित हुँदा नेताहरूले केही नपाएको बरु देशले राजनीतिक स्थिरता र समृद्धिको बाटो गुमाएको बताउनुभयो । 
एमालेका केही नेताहरू आफ्नो घर डढाएर खरानीको टीका लगाएर हिँडेका र यसबाट कार्यकर्तालाई धोका भएको, श्रमजीवी जनताले दुःख पाएको उहाँको भनाइ छ ।  
जनताले कम्युनिष्ट पार्टी कहिल्यै नटुटोस् भन्ने चाहेको बताउँदै उपमहासचिव गुरुङले नेताहरूकै कारण पार्टी फुट्ने गरेको बताउनुभयो । 
उहाँले भन्नुभयो– प्रचण्ड र माधव नेपालले सानो चित्त गर्दा नेकपा विभाजित भयोे । 
उपमहासचिव गुरुरूले कम्युनिष्ट पार्टीका हरेक नेता कार्यकर्ताले आत्मसमीक्षा गर्नुपर्ने बताउँदै आफूले कहाँ राम्रो गरेँ, कहाँ नराम्रो भयो भनेर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।