detail-img

अब समाज परिवर्तनको दिशामा अघि बढ्नुपर्छः महासचिव पोखरेल 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारका कारण देश सङ्कटमा परेको बताउनुभएको छ । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आयोजना गरेको तीनदिने प्रशिक्षण कार्यक्रमलाई आज चौतारामा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा (एमाले)को नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
गठबन्धन सरकारको गलत अर्थनीतिका कारण राज्य आर्थिकरूपमा टाट पल्टिने तर सरकारको निकटका एक जना उद्योगी अर्बपति बन्ने स्थिति आएको उहाँले बताउनुभयो । 
नेकपा (एमाले) आफ्नो विचारमा स्पष्ट रहेकाले देशलाई निकास दिन सक्ने उहाँको भनाइ छ ।

राजनीतिक परिवर्तन सफल भयो भनेर अहिले आराम गरेर बस्ने बेला नभएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– राजनीतिक क्रान्ति सफल भयो भनेर अब आराम गरेर बस्ने बेला होइन, अब नेतृत्व हासिल गरी समाज परिवर्तनको दिशामा अघि बढ्नुपर्छ ।
नेकपा (एमाले)का चुनौती के हुन् र अबको बाटो के हो ? भन्ने विषय पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटले क्लियर गरेको उल्लेख गर्दै उहाँले पार्टीमा अहिले विचार, संगठनात्मक प्रणाली, राजनीतिक मुद्दा कुनै पनि विषयमा मतभेद नरहेको बताउनुभयो ।  
यति हुँदाहुँदै पनि केही हदसम्म राजनीतिको मूल समस्याका रूपमा दक्षिणपन्थी अवसरवाद र राजनीतिक अराजकता रहेको महासचिव पोखरेलले बताउनुभयो । त्यस खालको समस्या केही हदसम्म माधव नेपाल र झलनाथ खनालले लिएर गए पनि समस्या पूर्णरूपमा अझै नसकिएको उहाँको भनाइ छ । 
वैचारिक, राजनीतिक कामको अभावमा अवसरवाद जन्मिने बताउँदै उहाँले पार्टी एकीकरणको समयमा विचारको काम ठप्प भएकाले समस्याहरू सिर्जना भएको प्रस्ट पार्नुभयो । 
कठिन सङ्घर्षबाट आएका मानिसहरू पनि अवसरवादी बन्छन् भन्ने कुरामा ध्यान दिँदै बाली सपार्न गोडमेल र मलजल गर्नु परेजस्तै क्रान्तिकारितालाई जोगाइ राख्न पनि समय समयमा वैचारिक प्रशिक्षण आवश्यक हुने उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– यथास्थितिवादीहरूलाई समाज बदल्नुपर्ने छैन त्यसैले उनीहरूलाई प्रशिक्षणको खाँचो पर्दैन । हामीहरू समाज बदल्नका लागि हिँडेका छौं त्यसैले चेतनाको कुरा गर्नुपर्छ । 
महासचिव पोखरेलले पार्टीका नेताहरूले नै समाजमा नयाँ विचार ल्याउनुपर्ने बताउँदै विचार र सिद्धान्त जीवन्त हुनुपर्ने तथा हरेक सिद्धान्त जीवनसँग जोडिनुपर्ने बताउनुभयो । 
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले पञ्चायत ढाल्न कांग्रेससँग संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्दा त्यसो गर्नु कम्युनिष्ट आन्दोलनप्रतिको गद्दारी हो भन्ने मोहनविक्रम सिंह आज कांग्रेससँग श्रीमतीका लागि राष्ट्रिय सभा सदस्य माग्ने अबस्थामा पुगेको यथार्थ उहाँले बताउनुभयो । 
आफूलाई कम्युनिष्ट भन्नेहरू कांग्रेससँग मिल्न पुगेको अबस्थाले उनीहरूले लिएको बाटो पुँजीवादको हो कि समाजवादको ? भनी महासचिव पोखरेलले प्रश्न गर्नुभयो । 
नेकपा (एमाले) जनताको बहुदलीय जनवादको बाटोमा हिँडेको पार्टी भएको बताउँदै उहाँले जनताको बहुदलीय जनवाद नेपाली क्रान्ति र समाज परिवर्तनको विज्ञान भएकाले यो एमालेको मात्र नभएको विचार व्यक्त गर्नुभयो । 
प्रशिक्षणको पहिलो दिन आज महासचिव पोखरेलका साथै उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली र जिल्ला अध्यक्ष कमल नेपालले प्रशिक्षण दिनुभएको छ भने पर्सिसम्म पार्टीका स्थायी कमिटी सदस्यहरू गुरू बराल, भानुभक्त ढकाल, शेरबहादुर तामाङ, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल लगायत नेताहरू र विषय विज्ञहरूले प्रशिक्षण दिनुहुने छ ।