detail-img

अध्यक्ष ओलीद्वारा मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित भवन उद्घाटन 

सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’को नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । 
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न जरूरी रहेको बताउनुभयो । 
पूर्व प्रधानमन्त्री ओलीले शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या बन्दै गइरहेको बताउँदै देशभित्रै उद्यमशील वातावरण निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने शिक्षाका पाठ्यक्रम निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिन सुझाव दिनुभयो ।
नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलका लागि विश्वविद्यालय तहमा अध्ययन, अनुसन्धान जरूरी रहेको उहाँको भनाइ थियो ।


अध्यक्ष ओलीले आजै मध्यपश्चिम विश्वविद्यालयका  विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको छ ।
‘केपी शर्मा ओलीसँग विद्यार्थी’ नाम दिइएको उक्त कार्यक्रममा विद्यार्थीहरूले कर्णालीका समस्या, राष्ट्रिय राजनीति, आफ्नो भविष्यको चाहना र अध्यक्ष ओलीका व्यक्तिगत जीवनका विभिन्न पाटाहरूमा जिज्ञासा राखेका थिए ।