एमाले आज

संसदीय दलको बैठकः अध्यक्ष ओलीद्वारा लोकतन्त्रको रक्षाका निम्ति सङ्घर्षको तयारीमा जुट्न निर्देशन

सेयर गर्नुहोस्

१८ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सङ्घर्षको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । 
नेकपा (एमाले) संसदीय दलको आज पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण सङ्घर्षका दुईवटा मोर्चा—‘सडक’ र ‘सदन’ रहेको भन्दै सशक्त आन्दोलन र सङ्घर्षको तयारी गर्न निर्देशन दिनुभएको छ । 
संसदमा एमाले सङ्ख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिकाका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको उहाँले बताउनुभयो । 
साथै आगामी दिनमा हरेक सांसदले विषयवस्तुको गहन तयारी, विज्ञहरूसँग छलफल र जनताका मुद्दाहरू सशक्त रूपमा उठाएर संसदमा गुणात्मक र प्रभावकारी उपस्थिति जनाउन समेत निर्देशन दिएको एमाले प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो । 
बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधानको रक्षा र जनजीविकाका सवालहरूलाई सुदृढ गर्न पूर्ण रूपमा चुकेको र निरन्तर फासीवादी, स्वेच्छाचारी एवं तानाशाही बाटोमा उद्यत रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक महरले बताउनुभयो ।

हामीसँग जोडिनुहोस्