detail-img

‘अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई–चारजना व्यापारिक घरानाको मात्रै अनुहार झल्कियो’


काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई–चारजना व्यापारिक घरानाको अनुहार झल्किएको बताउनु भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग यसको जवाफ पनि माग्नु भएको छ । अनधिकृत व्यक्ति पसेर कर र राजश्वका दर हेरफेर गरेको सन्दर्भमा प्रश्न उठाउँदा अर्थमन्त्री जनार्दन शर्माले ‘को हुन् तिनीहरू’ ? भनी एमालेलाई धम्क्याएको स्मरण गराउँदै अध्यक्ष ओलीले त्यसरी थर्काउने बेलासम्म भएको सीसीटिभी फुटेज अहिले आएर डिलिट भएको सन्र्दभ जोडेर गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो ।

‘प्रश्न सोध्नेलाई को हुन् तिनीहरू भनेर धम्क्याउने ? प्रमुख विपक्षीलाई एमाले को हो र सीसीटीभी फुटेज देखाउने ? भनियो,’ उहाँले भन्नुभयो, ‘त्यतिन्जेलसम्म रहेको सीसीटीभी फुटेज अहिले कसरी डिलिट भयो ? सीसीटीभी फुटेज अर्थमन्त्री र मन्त्रालयले मान्नु पर्दैन ? यसको छानबिन गरेर प्रतिवेदनसहित प्रधानमन्त्रीजी आउनुहोला ।’ उहाँले विश्वमै नभएको बिचौलिया मान्छे राखेर बजेट बनाउने जस्तो विषय कल्पना नै गर्न नसकिने बताउनुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री गठबन्धन जोगाउने बाहेक अरु सबै कर्तव्यप्रति लाचार बनेको आरोपसमेत लगाउनुभयो । उहाँले अर्थमन्त्रीलाई चुनौती दिदैँ भन्नुभयो– गल्ती नगरेको भए फुटेज देखाउँदा भयो नि ? यसरी फुटेज नै डिलिट भयो भन्दै भ्रम फैलाउने काम गरेर अर्थमन्त्रीले संसारमै नभएको भ्रष्टाचार र अराजकता मच्चाउने प्रयास गरेको दाबी गर्नुभयो ।  यो विषयमा संसदीय छानबिन समिति बनाइ छिटो छानविन गर्नुपर्ने र कारबाही गरी थितिमा देश ल्याउनु पर्ने उहाँको भनाई थियो । ‘समितिको रिपोर्टका आधारमा कारबाही हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०७९÷८० के बजेटमा दुई चारवटा घरानाको अनुहार देखिन्छ ।  यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’

सम्वोधनकै सिलसिलामा अध्यक्ष ओलीले आफ्नो सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्दै वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताउनुभयो ।

एसपीपीका सन्दर्भमा संसदमा सम्वोधन गर्दै ओलीले सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई चुनौती दिनुभयो । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले प्रधानमन्त्रीले संसद र जनतालाई यथार्थ जानकारी गराउनुपर्ने उहाँको भनाई थियो ।  उहाँले एसपीपीको बारेमा क–कसको पालामा के–के भयो सत्य तथ्य बाहिर ल्याउन पनि माग गर्नुभयो ।

उहाँले जनताका पीडालाई सम्वोधन गर्न विर्सिने खालको सत्ता प्यारो हुनुनहुनेमा जोड दिनुभयो । ‘यो सरकारले अन्तराष्ट्रिय र छिमेक सम्बन्ध विगार्ने काम भैरहेको छ । यसले हामीलाई पछिसम्म अप्ठ्यारो पार्न सक्छ,’ उहाँले भन्नुभयो, ‘एमाले राष्ट्रिय हितप्रति प्रतिवद्ध पार्टी हो । छिमेकप्रति सन्तुलित र समनिकटताको सम्बन्ध राख्ने पार्टी हो । ’