detail-img

जनताले नपत्याएका दलले सत्ता चलाउँदा जनतामा निराशाः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) धादिङ जिल्ला कमिटीको नवौँ अधिवेशन धादिङवेँसीमा शुरू भएको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शुक्रबार अधिवेशन उद्घाटन गर्नुभयो । 
अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले देश जनताले नपत्याएकाहरूले चलाइरहेकाले जनतामा निराशा पैदा भएको बताउनुभयो । 
उहाँले भन्नुभयो– आज देशको सबैभन्दा ठुलो र लोकप्रिय मतमा पहिलो राजनीतिक दल नेकपा (एमाले) बाहिर र साना जोडजाड गरेका दल सत्तामा रहेका कारण देशमा निराशा बढेको छ । 
यो कार्य लोकतन्त्रको मर्मप्रतिकै उपहास भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– लोकतन्त्र भनेको जनताले मन पराएकाले शासन गर्ने परिपाटी हो तर यहाँ जनताले मन नपराएकाले शासन गरिरहेका छन् ।
राष्ट्र निर्माणको लागि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने भए पनि जनताले बलियो राजनीतिक शक्ति निर्माण गर्न नसक्दा देश नबनेको र दुनियाँमा काहीँ पनि गठबन्धनले देश नबनाएको उहाँको भनाइ छ ।


नेकपा (एमाले) सरकारमा रहँदा स्वदेश फर्कने युवाको सङ्ख्या बढेको भए पनि  एमाले सरकारबाट हट्ने बित्तिकै विदेश जाने युवाको सङ्ख्या बढेको महासचिव पोखरेलले बताउनुभयो । देशमा बढ्दो निराशाकै कारण युवा पलायन बढेको र  मुलुकलाई निराशातर्फ लैजान काम गठबन्धनधारी माओवादी र कांग्रेसले गरेको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– गठबन्धन नेतृत्वको सरकारको अकर्मण्यताको कारण आज जनता निराश भएका छन्, युवा पलायन भएका छन् भन्ने कुराको सच्चाइलाई बुझ्न हामीले जति ढिला गर्दछौँ मुलुक बन्न त्यति नै ढिलाइ हुन्छ । 
उहाँले आज एमाले सत्तामा नहुँदा पनि प्रहारको निशाना एमाले नै भइरहेको र सत्तामा बस्नेहरूले एमालेलाई कहाँ र कुन भ्रष्टाचार र बेथितिमा कसरी जोड्न सकिन्छ भनेर लाग्दा पनि एमालेले क्लिन चिट पाउने र सत्ताधारीका अनुहार देखिने गरेको बताउनुभयो । 
नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण, बालुवाटार जग्गा प्रकरणदेखि पछिल्लो अनुसन्धानबाट बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरण समेत गरी सबैमा सत्ताधारीकै अनुहार आएको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । 
बलियो राष्ट्रिय शक्ति नभई देश बन्न नसक्ने भन्दै उहाँले देश बनाउनको लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताउनुभयो । त्यसका लागि नेकपा (एमाले)ले मिसन–२०८४ भनेको प्रष्ट पार्दै जनताले पनि सही समयमा सही निर्णय गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । 
महासचिव पोखरेलले कांग्रेसको भरिया बनेका माओवादी केन्द्र र एकीकृत समाजवादी अब कम्युनिष्ट पार्टी र अब नेपालको कम्युनिष्ट पार्टी एमाले मात्रै रहेको बताउनुभयो । उहाँले माओवादी, एकीकृत समाजवादी र साना साना कम्युनिष्ट पार्टीमा रहेका नेता कार्यकर्तालाई एमालेमा आउन आह्वान गर्नुभयो । 
गठबन्धन सरकार कल्पना नै गर्न नसक्ने गरी असफल भएको र यसले देशको अवस्था सुधार गर्न नसक्ने उहाँले बताउनुभयो । अयोग्यलाई शासन गर्न दिएर देश बनेन भन्न नमिल्ने भनाइ महासचिव पोखरेलको राख्नुभयो । 
उहाँले अहिले राष्ट्र जोगाउने र निराश भएका जनतामा आशा जगाउन आवश्यक रहेको बताउँदै एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सञ्चालन त्यसकै लागि गरेको स्पष्ट पार्नुभयो । 
महासचिव पोखरेलले एमालेले मध्यपहाडमा समृद्धिको आधार देखेको र मध्यपहाडबाट बसाइँ सर्ने क्रम पनि अब धेरै समय नचल्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले सरकारको अकर्मण्यता धेरै सहन नसकिने बताउँदै जनताको माध्यमबाट सरकारलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।
उद्घाटन कार्यक्रम नेकपा (एमाले)का जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको थियो । अधिवेशनको उद्घाटन समारोहमा पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज गुरु बराल, नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्यहरू धर्मदत्त देवकोटा, खेम लोहनी लगायत नेताहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो ।  अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्ने छ ।