detail-img

पश्चिम एसियामा तनावग्रस्त राजनीतिक परिस्थितिप्रति अध्यक्ष ओलीको चासो  

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पश्चिम एसियाको पछिल्लो तनावग्रस्त राजनीतिक परिस्थितिप्रति चासो व्यक्त गर्नुभएको छ । 
नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजना गरिएको ‘पश्चिम एसियामा बदलिँदो शक्ति समीकरण र विश्व भूराजीतिमा त्यसको प्रभाव’ विषयक अन्तर्क्रियालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो चासो व्यक्त गर्नुभएको हो । 
पछिल्लो समय पश्चिम एसियाको राजनीतिमा विभिन्न खाले उचार–चढाव भैरहेको अवस्थाप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले अरु देशका बारेमा छलफल र विश्लेषण गर्दा नेपालले अपनाउनुपर्ने कूटनीति र रणनीतिका बारेमा पनि सन्तुलित हुनुुपर्नेमा जोड दिनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– पश्चिम एसियाका विभिन्न देशमा रोजगारीका लागि १२ लाख भन्दा बढी नेपाली पुगेका छन्, त्यहाँ युद्ध भयो भने उनीहरूको रोजगारी मात्रै खोसिँदैन । उनीहरूको सुरक्षाको कुरा पनि महत्वपूर्ण हुन्छ ।  यी विषयमा नेपाल सबैभन्दा चनाखो रहनुपर्छ र त्यसका लागि तयारी अवस्थामा बस्नुपर्छ ।
उहाँले पश्चिम एसियाली क्षेत्रमा युद्ध सुरु भयो भने त्यति धेरै नेपालीलाई तुरुन्त नेपाल फर्काउने स्रोत–साधनको समेत अभाव हुने भन्दै  त्यसका लागि पनि सोच्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि सरकारले तयारी थाल्नुपर्नेमा जोड दिनुभयो ।  


अध्यक्ष ओलीले पश्चिम एसियाका विभिन्न देशमा रोजगारीका लागि गएका युवाहरूको रेमिट्यान्सबाट नेपालको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै त्यहाँको पछिल्लो अस्थिर अवस्थाले नकरात्मक प्रभाव पारेको अवस्थामा नेपालको अर्थतन्त्र समेत धरापमा पर्न सक्ने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– त्यस्तो चुनौतीपूर्ण अवस्थाको आँकलन गर्दै नेपालले कम्तिमा पनि  आफ्नो देशका जनताका लागि पर्याप्त खाद्यान्न उत्पादन गरी उपयोग गर्ने अवस्था बनाउने गरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ । त्यसका लागि कृषि उत्पादनमा जोड दिनुर्छ ।  कुनै पनि बेला हाम्रो देशका नागरिकलाई फिर्ता ल्याउनुपर्ने अवस्था आउनसक्छ । त्यसका लागि हामी सबैले कृषि उत्पादनमा जोड दिनुको विकल्प छैन । 
उहाँले गलतलाई गलत र राम्रोलाई राम्रो भन्ने कूटनीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।  
कार्यक्रममा पूर्वराजदूत डाक्टर नारद भारद्वाजले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले कार्यपत्र प्रस्तुत गर्दै पश्चिम एसियाको पछिल्लो राजनीतिमा विभिन्न खाले उचारचढाव भैरहेको स्मरण गराउनुभएको थियो । 
उहाँले हमासले इजरायलमा आक्रमण गरेयता सुरु भएको युद्धले समग्र मध्यपूर्व क्षेत्रमा एकपछि अर्को गर्दै विभिन्न खालका नयाँ नयाँ परिवर्तनहरू देखा पर्न थालेको बताउनुभयो । 
अमेरिकाले इराक र सिरियामाथि गरेको आक्रमण, पाकिस्तानमा इरानले गरेको आक्रमण र त्यसको बदलामा पाकिस्ताले इरानमा गरेको आक्रमण त्यसका उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो ।  
गत साता मात्रै जोर्डनमा अमेरिकी सैनिक शिविरमा भएको आक्रमण र त्यसको प्रतिकार स्वरुप अमेरिकाले गरेको आक्रमण जस्ता घटनाले पनि पश्चिम एसियाको राजनीतिमा उतार–चढाव देखिएको चर्चा गर्दै उहाँले कार्यपत्रमा यमनमा रहेका हुथी समूहले बन्दरगाहमा आएका अन्तर्राष्ट्रिय जहाजमा गरेको आक्रमणपछि बेलायत र अमेरिका लगायतका देशले त्यहाँ पुनः गरेको आक्रमण जस्ता सन्दर्भ पनि उल्लेख गर्नुभएको थियो । 
कार्यक्रममा नेकपा (एमाले) महासचिव शंकर पोखरेलको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराई, सचिव डाक्टर अञ्जान शाक्यलगायतले आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।