detail-img

प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस आज राजधानी लगायत विभिन्न जिल्लाका विविध कार्यक्रम आयोजना गरी मनाइएको  छ । 
यसै अवसरमा प्रेस चौतारी नेपाल, केन्द्रीय कमिटीद्वारा राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको अहिलेको परिस्थिति कहालीलाग्दो रहेको बताउनुभयो ।
उपाध्यक्ष पौडेलले देशको हरेक क्षेत्र गम्भीर समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो– गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्तालिप्सा र स्वार्थले गर्दा देश छियाछिया भएको छ । 
शिक्षा, स्वास्थ्य, रोजगार, श्रम, अर्थतन्त्र सुशासन, कृषि, पर्यटन काहीँ पनि चित्त बुझाउने अवस्था नरहेको उहाँले  बताउनुभयो । 
यस विषयमा सञ्चार क्षेत्रले बुलन्द आवाज उठाउनुपर्ने अवस्था रहेको भन्दै उहाँले एमाले प्रतिपक्षमा रहेको नाताले एमालेले पनि यी आवाज सशक्त रूपमा उठाउने बताउनुभयो । 
अहिलेको सत्ताले प्रतिपक्षमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरेकाले प्रतिपक्षका आवाजलाई उपेक्षा गरेको भन्दै उपाध्यक्ष पौडेलले सदनमा प्रतिपक्षीले उठाएको आवाज सुनुवाइ नभए सडकबाट पनि सशक्त दबाब दिने अवस्था आउने छ भन्नुभयो । 
अहिले साधारण खर्च धान्ने राजश्व समेत सरकारले उठाउन नसकेको उहाँले बताउनुभयो । मुलुकको अर्थतन्त्रको समस्या समाधान त परै जाओस् अहिलेको सरकारले अर्थतन्त्रको समस्या बुझ्नसमेत नसकेको उपाध्यक्ष पौडेलले बताउनुभयो । 
जनता र राष्ट्रका माग सम्बोधन गराउन अब सशक्त जनदबाब आवश्यक रहेको धारणा उहाँले राख्नुभयो । उपाध्यक्ष पौडेलले भन्नुभयो– जनताको आवाज सुन्नैपर्ने दबाब सिर्जना गर्न हामी जनताको बिचमा जाने छौँ । 
प्रेस स्वतन्त्रता, मानवअधिकार र जनअधिकारको पक्षमा सशक्त जनमत सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको  कार्यक्रममा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पनि बोल्नु भएको थियो । 


यसैबीच सुनसरीको इटहरीमा २६औं स्थापना दिवसको अवसरमा आजै अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।  कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले देश आर्थिक रूपमा जर्जर अबस्थामा रहेको र कुनै पनि बेला आर्थिक रुपमा टाट पल्टिन सक्ने बताउनुभयो । 
उहाँले प्रश्न गर्नुभयो– रेमिट्यान्सले मात्र कहिलेसम्म देश चल्न सक्छ ?
मिडिया क्षेत्रका समस्या र समाधानका उपाय बिषयक अन्तर्क्रियामा उहाँले मिडियाले युगको चुनौती र हाँकलाई स्वीकारेर आफूलाई रूपान्तरण गर्न सक्नुपर्नेमा जोड दिनुभयो । समानुपातिक बिज्ञापन नीति लागु गर्न हालको कानुनी ब्यबस्थालाई सच्याउनुपर्ने उहाँको भनाइ छ । 
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले मिडियाका चुनौती बिषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष लिलाराज भटटराईले मिडियाका समस्या समाधानका उपायहरू प्रस्तुत गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले) सुनसरी अध्यक्ष रेवती भण्डारीले मिडिया युग सुहाउँदो हुनुपर्ने र त्यसका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम प्रेस चौतारी नेपाल, सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा भएको थियो ।  
यसैबिच कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार रञ्जना अधिकारी पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले पुस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशी १५ हजार रूपियाँ रहेको छ ।