detail-img

सचिव अर्यालद्वारा राजनीतिक पार्टीहरूको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण 

बुटवल । नेकपा (एमाले) रूपन्देही जिल्ला कमिटीद्वारा सञ्चालित प्रशिक्षक प्रशिक्षणको दोस्रो दिन आज पार्टीका  केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको छ । 
नेपालका राजनीतिक पार्टीहरूको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण दिँदै सचिव अर्यालले नेकपाको जन्म सुगौली सन्धिदेखि दमित राष्ट्रिय स्वाभिमानलाई माथि उठाउँदै राष्ट्रिय स्वाधीनताका लागि, सामन्तवादलाई जरैदेखि उन्मूलन गरेर जनवादी व्यवस्था स्थापना गर्नका लागि र सामाजिक न्याय, समानता र समृद्घिसहितको समाजवाद स्थापना गर्नका लागि भएको बताउनुभयो ।
दक्षिणपन्थी, वामपन्थी र पश्चगामी गरी तीन खालका पार्टीहरू रहेको प्रसङ्ग उल्लेख गर्दै सवै पार्टीको वर्ग चरित्र, नेकपा (एमाले) र उनीहरुका बीच रहेको भिन्नता तथा पार्टीले समाजवादी कार्यक्रम कसरी सञ्चालन गर्छ भन्नेबारेमा उहाँले विभिन्न सन्दर्भसहित ब्याख्या गर्नुभयो । 
सरकारमा रहँदा गरिएका समाजवादउन्मुख कार्यक्रमको चिरफार गर्दै उहाँले विदेशी शक्तिका कारण पार्टीलाई सत्ताबाट हटाइएको बताउनुभयो । 
अर्का प्रशिक्षक पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज दलवहादुर रानाले सवैको समान क्षमता नहुने भएकाले रुचि, इच्छा र क्षमता अनुसार विषयमा दक्षता प्राप्त गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।
प्रशिक्षण पश्चात पार्टी विस्तार र सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गत चुनावमा गिरेको साँख फर्काउन सक्ने क्षमता विकास हुन सकोस् भनी शुभकामना ब्यक्त गर्नुभयो । 
अबका दिनमा गाउँ कमिटी र वडा कमिटीलाई सतर्कतासहित आर्थिक विषयमा बलियो बनाउने गरी नीति वनाउन आग्रह गर्दै रानाले मौलिक तरिकाले समाजवादमा कसरी पुग्न सकिन्छ भनेर पाठ्यक्रममा समावेश हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
पार्टीलाई पूर्णकालीन कार्यकर्ता चाहिन्छ भने तिनको व्यवस्थापन कसरी हुन्छ ? चाहिँदैन भने पेशा व्यवसाय गरेर बँचेको समयमा पार्टी नेतृत्व गर्दा समाजवादमा पुग्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न गर्दै यसको जवाफ आफै खोज्न र तदनुसारको कदम चाल्न निर्देशन दिनुभयो ।
यस अघि पार्टीका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेशका स्कुल विभाग संयोजक लक्ष्मण ज्ञवालीले पार्टी संगठन ब्यवस्थापनबारे प्रशिक्षण दिनुभएको थियो । 
उहाँले जनसंगठन र पार्टीबीचको भिन्नता, लेनिनवादी संगठनात्मक शैली, संगठनात्मक ब्यवस्थापनका तीन पक्ष, मानव जीवन र संगठनका बीचमा रहेको भिन्नता, परिवर्तित अवस्थामा वर्ग सङ्घर्षको स्वरुप, जनआधारित पार्टी नेकपा (एमाले)का विशेषता लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै केन्द्रीय स्कुल बिभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सिप, शैली र कला विषयमा प्रशिक्षण दिनुभएको थियो । 
त्यस अवसरमा कोइरालाले कार्यकर्ता, नागरिक र नेताकाबीचमा हुनुपर्ने सम्वन्धका बारेमा प्रकाश पार्दै विषयगत ज्ञान कसरी प्रस्तुत गर्दा मानिसले ग्रहण गर्न सक्छन् भन्नेबारेमा छलफल चलाउनु भयो ।
जिल्ला अध्यक्ष तेजेन्द्र केसीले जिल्लाको इतिहास लेखन भइरहेकाले आवश्यक सुझाव दिन आग्रह गर्नुभयो भने जिल्ला स्कुल विभाग प्रमुख युवराज घिमिरेले कसरी र किन स्कुल आवश्यक छ भन्नेवारेमा जानकारी गराउनुभएको थियो ।