detail-img

मिसन–२०८४ यसै भनिएको छैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचन ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्न कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभएको छ । 
मङ्गलबार सुरु भएको नेकपा (एमाले) झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठकको उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– २०८४ को निर्वाचनमा हामीले विजय हासिल गर्ने छौं । यो निर्वाचन ‘समृद्ध नेपाल, सुखी नेपाली’ साकार पार्न महत्वपूर्ण घुम्ती हुने छ । 
उहाँले मिसन–२०८४ यसै भनिएको छैन भन्नुभयो। 
त्यसका लागि नेकपा (एमाले)लाई एकताबद्ध र संगठितरूपमा  विस्तार, सक्रियताबाट मजबुत र निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । 
नेकपा (एमाले)को नीति, कार्यक्रम, दृष्टिकोण र कार्ययोजना प्रष्ट रहेको र देशले समेत एमालेबाटै नीति पाइरहेको स्पष्ट गर्दै अन्य दलको पनि मौलिक दृष्टिकोण र योजना नरहेको हुँदा अरूले जित्नुपर्ने कारण नै नभएको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा २०७८ पछि सबै खालका मतभेद समाप्त भएको र पार्टीमा कुनै मतभेद नरहेको अवस्थामा आ– आफ्ना गुट बनाएर छोटे मुखिया नबन्न नेताकार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले सानातिना कमजोरी छन् भने सच्याउनुपर्ने बताउनुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनमा २००८ सालदेखि सुरु भएका मतभेद ७० वर्षपछि २०७८ मा पार्टीभित्रका मिर्जाफर–मिरकासिम प्रवृत्ति बाहिरिएपछि समाप्त भएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले झापा जिल्ला कमिटीको बैठकलाई गहन छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले जिल्ला कमिटी मातहतका सबै कमिटीहरू, जनसंगठन, चुस्त दुरुस्त एवं व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने दायित्व जिल्ला कमिटीको रहेको स्मरण गराउँदै पार्टी सदस्यता विस्तार लगायत विषयमा बैठकमा गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिनुभयो ।  
जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता  बसेको बैठक सचिव शिव ढुङ्गेलको सञ्चालन गर्नुभएको थियो । बैठकमा कार्यवाहक अध्यक्ष गिरीले बैठकको कार्यसूचि प्रस्तुत गर्दै बुधबार पाँचवटै निर्वाचन क्षेत्रीय कमिटीका संयोजकहरूबाट, १५ वटै पालिकाका इन्चार्जहरूबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने तथा कार्यालय सचिवले आर्थिक रिपोर्ट प्रस्तुति गर्ने जानकारी दिनुभयो । 
त्यसैगरी फागुन २१ गते ५१औं सुखानी शहीद दिवसका सन्दर्भमा झापामा सप्ताहव्यापी कार्यक्रम गरी मनाउने विषयमा छलफल हुने, राजनीतिक वैचारिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आगामी २०८१ जेठ मसान्तभित्र पार्टीका जिल्ला मातहत सबै तहका कमिटीको अधिवेशन गरिसक्ने सम्बन्धमा जिल्ला कमिटी बैठकमा छलफल हुने कार्यवाहक अध्यक्ष गिरीले बताउनुभयो । 
बैठक उद्घाटन समारोहमा स्थायी कमिटीका सदस्यहरू हिक्मत कार्की, अग्नि खरेलसहित केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय विभागका सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रदेश कमिटीका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूको आतिथ्यता थियो ।