detail-img

निर्वाचन अघिको गठबन्धनका कारण मुलुक अफ्यारोमाः महासचिव पोखरेल

बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तामा टिकिरहने सत्तागठबन्धन आबद्ध दलहरूका सोचले मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको बताउनुभएको छ । 
नेकपा (एमाले) रुपन्देहीले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणमा महासचिव पोखरेलले निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको र त्यसपछिका काम पनि त्यसैगरी अन्यौलतामा बितिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– सरकार सत्ताको खेलमा मात्र व्यस्त छ, विकास निर्माणका काम अलपत्र छन्, ऋण दैनानुदिन बढिरहेको छ । जनता गरिबीले छट्पटिएका छन्, युवा विदेश जान बाध्य छन् ।
महासचिव पोखरेलले देश र जनताको हितमा काम हुनका लागि नेकपा (एमाले)को बहुमत आउनुपर्नेमा जोड दिनुभयो ।


नेपाली कांग्रेसले आन्दोलन संस्थागत गर्ने वेला सधै धोका दिने गरेकाले पटक पटक आन्दोलन गर्नुपरेको र अहिले पनि देशको विग्रँदो अवस्थाप्रति चिन्तित नदेखिएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले यसो हुनुको मुख्य कारण कांग्रेस यथास्थितिको पक्षधर भएकाले हो भन्नुहुँदै तर एमाले परिवर्तनको नेतृत्व गर्ने पार्टी भएकाले आफ्ना विचार समाजका अगाडि राखिरहनुपर्ने बताउनुभयो ।  
महासचिव पोखरेलले भन्नुभयो– २०१७ सालदेखि हालसम्मका विभिन्न आन्दोलन भए, हरेक आन्दोलनको नेतृत्व कांग्रेसले पनि गर्दै आएको छ तर आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कांग्रेसले धोका दिने गरेको छ । इमानदार भएर राजनीति गरेको भए पटकपटक आन्दोलन गर्नुपर्ने थिएन । 
ठूलो सङ्घर्ष र आन्दोलनबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्नुहुँदै उहाँले सत्ता स्वार्थका कारण लोकतन्त्र पूर्णरूपमा संस्थागत हुन नसकेको बताउनुभयो । 
महासचिव पोखरेलले पार्टीका नेता कार्यकर्ताहरूले कुराभन्दा काम गर्ने वेला आएको र जनताको माग र आवश्यकताको आधारमा काम गर्न सक्नुपर्ने बताउनुभयो । 
नेकपा (एमाले)को नेतृत्व बनेका स्थानीय सरकारले उदाहरणीय रूपमा जनताको हितमा काम गर्नुपर्ने बताउँदै जनताले महसुस गर्ने गरी विकास निर्माणका काम मात्र पार्टीको जनआधार दरिलो बन्ने भनाइ उहाँले राख्नुभयो ।