detail-img

वर्तमान गठबन्धन सरकार पूर्ण असफलः महासचिव पोखरेल

दैलेख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार पूर्ण असफल रहेको बताउनुभएको छ । 
नेकपा (एमाले) दैलेखको आठौँ जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार राष्ट्रिय हित र जनताका काममा इतिहासमै कमजोर सावित भएको बताउनुभयो । 
उहाँले गठबन्धन सरकारले जनताका आवश्यकता भन्दा नेताका चाहना अनुसारका मात्र काम गरेको चर्चा गर्दै मुलुकको राष्ट्रिय राजनीति गम्भीर मोड देखिएको बताउनुभयो । 
सरकार अर्थ व्यवस्थालाई नेतृत्व गर्न पूर्ण असक्षम रहेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– निर्माण व्यवसायीले काम गरेको पैसा पाएका छैनन् । पुँजीगत खर्चको स्थिति निराशाजनक छ । युवा पलायनको स्थिति भयावह छ । सरकार सत्ता टिकाउनमै केन्द्रित देखिन्छ । 
अहिले मुलुकमा देखिएका समस्याको निराकरण गर्न सक्ने पार्टी नेकपा (एमाले) मात्र रहेको उहाँको भनाइ छ । महासचिव पोखरेलले एमालेको नेतृत्वको सरकारका पालामा धेरै जनमुखी कामको र एमाले सरकारबाट बाहिरिँदा विकासका काम समेत अलपत्र रहेको बताउनुभयो । 
लोकतन्त्रमा जनताले नचाहेका पार्टीले शासन गरिरहेका कारण जनतामा निराशा पैदा भएको बताउँदै महासचिव पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा अघि बढाउन सबै एक भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– नीतिका आधारमा जनताले पार्टी छनोट गर्नुपर्छ । एमाले बाहेक अन्य दलसँग मुलुक बनाउने नीति÷विचार छैन ।
नेकपा (एमाले) नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै महासचिव पोखरेलले नेतृत्वले अघि सारेको मिसन–२०८४ लाई सबैले एक भएर अघि बढाउनुपर्ने तथा विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अब विगतको जस्तो नेताका टाउका जोडेर पार्टी एकता नहुने स्पष्ट गर्दै कार्यकर्ताका मन जोडेर एमालेले कम्युनिस्ट आन्दोलन बलियो बनाउनतर्फ लागेको बताउनुभयो । महासचिव पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला रहेकाले कम्युनिस्ट आन्दोलन अघि बढाउन यहाँको नाम सधै अगाडि आउने समेत बताउनुभयो । 
उद्घाटन समारोहमा पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले आठौँ जिल्ला अधिवेशनपछि दैलेखमा पार्टीका कामहरूले नयाँ गति लिने बताउँदै सक्षम नेतृत्व चयनमा सबैको भूमिका रहनुपर्छ भन्नुभयो । उहाँले नयाँ नेतृत्व चयनपछि पार्टी सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सही विचारलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । 
नेकपा (एमाले)को भूमिका राष्ट्रिय राजनीतिमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको बताउँदै उहाँले आम पार्टी कार्यकर्ताले समाजवादको लक्ष्यलाई अघि बढाउन एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले दैलेखबाट सहमतिको सन्देश जाने गरी नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । 
उहाँले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका समयमा भएका जनमुखी कामहरूलाई जनतामाझ लैजान नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । 
पार्टीका स्थायी कमिटी सदस्य तथा दैलेख इन्चार्ज यामलाल कँडेलले अभिभारा फेरिँदै गए पनि काम गर्ने परिपाटी उस्तै भएको जनाउँदै नेता तथा कार्यकर्ताले जनताको जीवनस्तर सुधार्नतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।  
उहाँले गठबन्धन सरकारले जनतामा निराशा बाँड्ने बाहेक अन्य कुनै काम गर्न नसकेको बताउनुभयो ।  
नेकपा (एमाले) कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले पार्टी मजवुद बनाउने गरी अधिवेशन गरिँदै आएको बताउँदै एमाले प्रतिको घेराबन्दी तोड्नका लागि सबै एक भएर अघि बढ्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको नेतृत्व सहमतिका माध्यमबाट चयन गरिने बताउँदै मिसन– २०८४ को कार्यभार पूरा गर्न सक्ने सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्नुभयो । 
उद्घाटन समारोह नेकपा (एमाले) दैलेखका कार्यवाहक अध्यक्ष प्रेम बहादुर बुढाको अध्यक्षतामा भएको थियो ।