detail-img

केन्द्रीय कमिटीको सातौं बैठक फागुन ८, ९ र १० गते 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक यही फागुन ८, ९ र १० गते बस्ने भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको सचिवालयको २७औं बैठकले केन्द्रीय कमिटीको बैठक उपरोक्त मितिमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा बस्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताउनुभयो ।


बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डा निर्धारण गरेको छ । बैठकले राष्ट्रिय राजनीतिको समीक्षा गर्नुका साथै  वर्तमान गठबन्धन सरकारका कारण राष्ट्रिय हित, सुशासन र जनताका सरोकारका प्रश्नमा गम्भीर विचलन देखापरेको र मुलुक आर्थिक सङ्कटतर्फ उन्मुख रहेकाले राष्ट्रिय हित र जनसरोकारका  विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्ने विषयमा केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन पार्टी सदस्यहरूबाट कम्तीमा एकसय रूपियाँ सहयोग रकम सङ्कलनको अभियान चलाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । 
त्यस्तै, आजको बैठकले नेकपा (एमाले) ‘कार्यकर्ता आधारित पार्टी’ भएको र पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने योजना रहेकाले सो अनुसार पार्टी निर्माणको ढाचाका बारेमा केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने निर्णय भएको महासचिव पोखरेलले बताउनुभयो । 
केन्द्रीय कमिटी बैठकमा पार्टी शुद्धीकरण र सुदृढीकरणका विषयमा पनि छलफल गर्ने निर्णय सचिवालय बैठकले गरेको छ । 
यस्तै, पार्टीमा प्रवेश गर्नुभएका र अधिवेशनपछि जिम्मेवारीबाट विदा हुनुभएका अगुवा कार्यकर्ताहरूको व्यवस्थापनको विषय पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा हुने भएको छ ।  पार्टीले गत मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गमा सम्पन्न गरेको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा तयार गरिएको प्रतिवेदनका आधारमा केन्द्रीय कमिटी बैठकबाट मध्यपहाडको समृद्धिका लागि पार्टीको दृष्टिकोण  तयार गरिने भएको छ । 
सचिवालय बैठकले दुईजना केन्द्रीय कमिटीका सदस्यहरू सराज अहमद फारुकी र ऐन महरको राजीनामा स्वीकृत गरेको छ । साथै, बैठकले विभिन्न विभागमा सदस्यहरू मनोनयन गरेको छ ।