detail-img

धादिङ जिल्ला कमिटीको अधिवेशन सम्पन्न, अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित

काठमाडौं । नेकपा (एमाले) धादिङ, दैलेख र रौतहट जिल्ला कमिटीका अधिवेशनहरू नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएका छन् । 
आज सम्पन्न धादिङ जिल्ला कमिटीको अधिवेशनबाट भूमि त्रिपाठी अध्यक्षमा निर्वाचित हुनुभएको छ । 
त्यसैगरी उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ, सचिवमा राधिका सापकोटा, उपसचिवद्वयमा उर्मिला रेग्मी र भक्तबहादुर लामिछाने निर्वाचित हुनुभएको छ । धादिङबेँसीस्थित मदन आश्रित स्मृति भवनमा भएको नवौँ जिल्ला अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । अधिवेशनको बन्दसत्र सञ्चालनका लागि  पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षमा अध्यक्षमण्डल गठन गरिएको थियो । 

यसैगरी दैलेख जिल्ला कमिटीको हालै सम्पन्न अधिवेशनले सूर्यबहादुर शाहीको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । 
कमिटीको उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालयजङ्ग शाह र सचिवद्वयमा तारा सोनी विक र मीनबहादुर बुढा चयन हुनुभएको छ । 
त्यसैगरी, रौतहट जिल्ला कमिटीको अध्यक्षमा सचिदानन्द शाह निर्वाचित हुनुभएको छ । कमिटीको उपाध्यक्षमा रुपेशकुमार पटेल, सचिवमा बाबुराम दाहाल र उपसचिवद्वयमा अवधेशकुमार यादव र मुना लामिछाने निर्वाचित हुनुभएको छ ।