detail-img

राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक स्तर माथि उठ्न सक्दैनः महासचिव पोखरेल 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले महिला र पुरुषलाई समान हैसियतमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ । 
विश्व सामाजिक फोरमः विश्व महिला सम्मेलनको सन्दर्भमा अखिल नेपाल महिला संघले आइतबार आयोजना गरेको ‘उत्प्रेरित राजनीतिः महिला प्रतिनिधि’ विषयक कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक स्तर माथि उठ्न नसक्ने बताउनुभयो । 
राजनीतिक सहभागिताको हिसाबले नेपालमा महिला सहभागिता युरोपको भन्दा माथि उठेको भए पनि आर्थिक, सामाजिक क्षेत्रमा त्यो विकास हुन नसकेको उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– नेपालको परिप्रेक्षमा हामीले आर्थिक तथा सामाजिक मुद्दालाई अझ प्राथमिकताका साथ, महत्वका साथ उठाउन आवश्यक छ ।  
नेपालको मौलिक परम्परागत संस्कृतिमा जातिभेद र लिङ्ग भेद नभएको तर जब ब्रह्मा, विष्णु, महेश्वरको नाममा पूजा गर्ने पितृ सत्ता सुरु भयो तब महिलाहरू माथि विभेद भएको उहाँको भनाइ छ । 
अहिले पनि हिन्दु महिलाहरूको तिनै कुरामा आशक्ति रहेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– जुन संस्कृतिले महिलालाई पछाडि पार्यो त्यही संस्कृतिप्रतिको आशक्तता जबसम्म रहन्छ, सांस्कृतिक रूपमा महिला परिवर्तनको प्रक्रिया कमजोर हुन्छ । 
नेपालको महिला आन्दोलनले जबसम्म यो आशक्ति बदल्न सक्दैन तबसम्म सामाजिक र सांस्कृतिक रूपमा महिलाको अवस्था कमजोर रहिरहने उहाँको भनाइ छ ।

यसैबीच, सम्मेलनले घोषणापत्र जारी गर्दै विश्वभरका महिला नेताहरूले महिलाको घरायसी कामको मूल्याङ्कन गरी राज्यसँग लगानीको माग गरेका छन् । घरायसी कामको बोझले सार्वजनिक स्थानमा महिलाको सहभागितालाई बाधा पुर्याएको हुँदा त्यसको मूल्याङ्कन राज्यले गर्नुपर्ने महिला नेताहरूको भनाइ छ । 
विश्व सम्मेलनले जारी गरेको आठबुँदे घोषणापत्रमा राजनीतिक दलहरू, नेताहरू र सरकारहरूसँग निर्णय प्रक्रिया र शासनप्रणालीमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने विगतका प्रतिबद्धताहरू पूरा गर्न र राजनीतिमा महिलाको समान र अर्थपूर्ण सहभागिताको सुनिश्चित गर्न माग गरिएको छ । 
त्यस्तै महिला र अन्य सीमान्तकृतहरूको समानुपातिक प्रतिनिधित्वका लागि कोटाको प्रावधान, निर्वाचनमा हुने खर्च नियन्त्रण, हिंसाको अनुगमन र लैङ्गिक उत्तरदायी निर्वाचन प्रक्रियाहरू अपनाउन पनि विश्वभरका संसदहरूलाई आग्रह गरिएको छ । 
सम्मेलनले धार्मिक कट्टरवाद, सैन्यीकरण र युद्धहरूले महिला र बालिकाहरूको सुरक्षालाई खतरामा पारेको भन्दै उनीहरूको सुरक्षा र समान अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । 
सम्मेलनले विश्वमा महिलाहरुका धेरै सवालमा समानता रहेको भन्दै सरकार र राजनीतिक संस्थाहरूलाई बढी समावेशीता र लैंगिक समानताको लागि जवाफदेही बनाउन संयुक्त दबाब दिन आग्रह गरेको छ । 
सम्मेलनमा भारत, दक्षिण अफ्रिका, बंगलादेश, मलेसिया लगायतका देशका महिला नेताहरूले आफ्नो देशमा महिलाको राजनीतिक सामाजिक अवस्थाका बारेमा जानकारी दिएका थिए ।