१८ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा नेपाली कांग्रेस र एमालेले सँगै सङ्घर्ष गरेको स्मरण गर्दै दुई पार्टीको सहकार्यबाट लोकतन्त्रको रक्षा गर्दै देशको मुहार परिवर्तन गर्न सकिने बताउनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेसको नेतृत्वमा नयाँ पुस्ताको आगमन सकारात्मक भएको बताउनुभयो ।
त्रिचन्द्र क्याम्पसबाट सुरु भएको राजनीतिक यात्रामा गगन थापा र आफूहरू एउटै लोकतान्त्रिक आन्दोलनको पक्षमा उभिएको उहाँले स्मरण गर्नुभयो ।
राणा शासन, पञ्चायती व्यवस्था तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध कांग्रेस र एमालेले संयुक्त रूपमा सङ्घर्ष गरेको स्मरण गर्दै महासचिव पोखरेलले आगामी दिनमा पनि लोकतन्त्रको सुदृढीकरणका लागि दुई दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
वर्तमान सरकार राजनीतिक दलहरूसँग पर्याप्त छलफल र सहकार्य नगरी अघि बढिरहेको यथार्थ उहाँले प्रस्तुत गर्नुभयो । प्रधानमन्त्रीले संसद् र जनताका आवाज नसुन्ने अवस्था सिर्जना भएको र सरकारको कार्यशैली स्वेच्छाचारी प्रवृत्तितर्फ उन्मुख भएको धारणा महासचिव पोखरेलले राख्नुभयो ।
लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा जनताको आवाजलाई स्थापित गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
युवापुस्तालाई निराश हुन नदिन सबै राजनीतिक दलले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले युवाका सपना र आकाङ्क्षा पूरा गर्न राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले कांग्रेसको १५औँ महाधिवेशनले जनताको भावना र समसामयिक राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न असफल भएको बताउनुभयो । उहाँले देशको राष्ट्रियता इतिहासमै कमजोर अवस्थामा पुगेको भन्दै राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूलाई एकठाउँमा ल्याउने प्रयास गरिरहे पनि सरकार भने राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न असफल भएको धारणा राख्नुभयो ।
लोकतन्त्रको रक्षाका लागि कांग्रेस र एमालेबीच सहकार्य आवश्यकः महासचिव पोखरेल
सेयर गर्नुहोस्
