detail-img

अध्यक्ष ओलीद्वारा विद्यालय भवन उद्घाटन

इटहरी (सुनसरी) । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरी–४ स्थित कचना बुढीगङ्गा महादेव माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । 
उक्त भवन निर्माणका लागि अध्यक्ष ओली प्रधानमन्त्री रहेको समयमा बजेट निकासा गरिएको थियो ।


आज आयोजित भवन उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो रुचि भवन उद्घाटनमा नभएर शिक्षा क्षेत्रमा बजेट छुट्याउनमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो– उद्घाटन वडाध्यक्षले गरे पनि हुन्छ, बजेटका लागि सम्झनुहोस्, बरु मेरो शिल्यान्यासमा रुचि छ । 
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा छुट्याएको बजेटबाट  धेरै ठाउँमा विद्यालय बनेको र यस विद्यालयका लागि थोरै मात्र बजेट माग भएकोमा आफूले एकीकृत योजना ल्याउन लगाएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो– अब नैतिकवान्, कर्मठ, चरित्रवान् नागरिक उत्पादन गर्नुहोस् । 
विश्व प्रतिष्पर्धामा उत्रनसक्ने जनशक्ति निर्माणमा जोड दिंदै अध्यक्ष ओलीले सबैका लागि गुणस्तरीय शिक्षा हुनुपर्ने आफ्नो मान्यता रहेको बताउनुभयो । 
२०३९सालमा स्थापना भएको सो विद्यालयको नयाँ भवन नौ करोड ८६ लाख आठ हजार ९२८ रुपियाँ नेपाल सरकारको विशेष अनुदानमा निर्माण भएको हो । भवन उद्घाटन कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्रीद्वय भीम आचार्य, शेरधन राई लगायत नेताहरूको पनि उपस्थिति रहेको थियो । 
गठबन्धन खरानीको डल्लो
यसअघि विहान अध्यक्ष ओलीले विराटनगर पुग्नुहुँदा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिनुभयो । 
वर्तमान गठबन्धन कति समय टिक्छ भन्ने विषय आफूलाई थाहा नभएको तर गठबन्धन खरानीको डल्लो भएकाले कुनै पनि बेला फुट्ने उहाँको भनाइ छ । 
अध्यक्ष ओलीले भन्नुभयो– यो खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ । 
नेकपा (एमाले) सरकार फेरबदलको खेलमा नरहेको उहाँले प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– गठबन्धनको खेलमा हामी छँदै छैनौँ, हामी मिसन– २०८४ मा छौँ ।  
आफूहरूको ध्यान मिसन–२०८४ मा केन्द्रित रहेको दोहोर्याँदै उहाँले  राष्ट्रियतालाई बलियो बनाउन, सुशासन र विकास कायम गर्न, जनताको निराशा चिर्न एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गरिने बताउनुभयो ।  
अध्यक्ष ओलीले अहिले राष्ट्रियता कमजोर भएको, सुशासन र विकास कमजोर भएका कारण नागरिकमा निराशा छाएको बताउनुभयो ।