detail-img

वर्तमान सरकारका कारण देश असफलतातर्फ धकेलिँदैः अध्यक्ष ओली 

इनरुवा (सुनसरी) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको असफलताका कारण देश असफलतातर्फ धकेलिएको बताउनुभएको छ  । 
सुनसरीको सदरमुकाम इनरुवामा पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको असफलताले राजनीति मात्र नभई समाज अराजकता उन्मुख बन्दै गएको जनाउनुभयो  । 
यस्तो अबस्थामा जनता कतै मन अड्याउने ठाउँ नपाएर, उत्साहित हुन नपाएर निराशामा रहेको उहाँको भनाइ छ ।


अध्यक्ष ओलीले भन्नुभयो– विषम परिस्थितिको फाइदा लिएर विभिन्न प्रतिगामी शक्ति मौका आउँछ कि भनेर केही सडकमै उपद्रो मच्चाउन निस्किएका छन्, एकखालको परीक्षण गरिरहेका छन् ।
अध्यक्ष ओलीले कुनै राजनैतिक पृष्ठभूमि नभएका र जनाधार नभएका तत्व र व्यक्ति प्रधानमन्त्री बन्ने सपना देख्दै हिंडेको  उहाँले बताउनुभयो । संसदमै नभएका व्यक्ति असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै हिडेको देख्दा अचम्म लागेको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले वर्तमान असहज परस्थितिमा केही तत्व खेल्न लागेको भन्दै देशको भविष्य अन्धकार हुनबाट बचाउन एमाले एक्लै उभिएको बताउनुभयो । एमाले भएका कारण देशको भबिष्यलाई कसैले अन्धकार बनाउन नसक्ने उहाँको भनाइ छ । 
अध्यक्ष ओलीले २०८४ मा देशमा एमालेले एकल बहुमत ल्याएर बहुमतको सरकार बनाउने बताउनुभयो । 
पुर्खाले लडेर बचाएको देश बचाउने अभिभारा अहिले एमालेको काँधमा रहेको अध्यक्ष ओलीले बताउनुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भीम आचार्य र स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले पनि सम्बोधन गर्नुभएको थियो । 
कार्यक्रममा  विभिन्न पार्टी परित्याग गरी ५७ जना राजनीतिक कार्यकर्ता तथा समर्थक एमालेमा प्रबेश गरेका छन् ।